झापा । 

वैदेशिक रोजगारीमा ठगिने युवाहरु अधिकांश आफन्त र चिनजान व्यक्तिबाट ठगिने गरेका छन् ।  नेपाली युवामध्ये धेरैजना चिनजान र आफन्तबाटै ठगीमा परेको देखिएको छ । सरकारले पटकपटक वैधानिक प्रक्रिया नअपनाई म्यानपावर कम्पनीबाट तोकिएको प्रक्रिया पूरा गरेर जानुपर्ने बताएपनि अधिकांश चिनजानकै व्यक्तिमार्फत विदेश जाने प्रवृत्तिले युवाहरू अलपत्र मात्र होइन लाखौं रुपैयाँ गुमाउने गरेको देखिएको छ ।

जिल्ला प्रशासन कार्यालय गौरअन्तर्गतको आप्रवासी स्रोत केन्द्रले दर्ता गरेका उजुरीहरूले ठगीका अधिकांश घटनामा पीडित आफन्त वा चिनजानकै मान्छेमार्फत मुछिने गरेको देखाएको छ । सरकारले २०७६ जेठ २ गतेदेखि एजेन्टको व्यवस्था नै खारेज गरेको भएपनि गाउँघरमा अझैपनि अवैध एजेन्ट सक्रिय रहेका परामर्शदाता सोनुकुमार साहले जानकारी दिए । 

उनका अनुसार समुदायमा म्यानपावरमार्फत जानुपर्छ भन्ने सचेतना दिइरहेको छ । तर अझैपनि धेरैले चिनजानकै भरमा विदेश जाने गरेका छन् र ठगिँदै आएका घटना रहेका छन् । 

गत आर्थिक वर्ष २०८१÷८२ मा मात्र आप्रवासी स्रोत केन्द्र गौरमा २४५ वटा उजुरी दर्ता भएका थिए । तीमध्ये १२१ उजुरी सफलतापूर्वक समाधान गर्दै पीडितलाई ९५ लाख ६६ हजार ५ सय रुपैयाँ बराबरको क्षतिपूर्ति दिलाइएको केन्द्रले जनाएको छ । चालु आर्थिक वर्षको पहिलो महिनामै २३ उजुरी दर्ता भइसकेका छन्, जसमा ५ वटा फछ्र्यौट भइसकेका छन् र ४ लाख ४० हजार रुपैयाँ क्षतिपूर्ति दिलाइएको छ ।

एजेन्ट गरुडा–६ का शेख ग्यासुदिनमार्फत रौतहटको गरुडा नगरपालिका–९ का ३० वर्षीय मोहम्मद फिरोज  भिजिट भिसामा कतार गएको डेढ महिनापछि फर्किका छन् । अहिले उनले आफूलाई ठगेको भन्दै जिल्ला प्रशासन कार्यालय गौरस्थित आप्रवासी स्रोत केन्द्रमा क्षतिपूर्तिको माग गरेका छन् । उनी मात्र होइन दर्जनौ युवाहरु आफन्त र चिनजानको व्यक्तिबाट ठगिएका घटना दर्ता भएको आप्रवासी स्रोत केन्द्रले जनाएको छ ।