झापा । 

 झापाको दमकमा जेन–जी पुस्ताले गरेको प्रदर्शनमाथि प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन् । आन्दोलन चर्किँदै गएपछि भीड नियन्त्रण गर्न प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीका अनुसार दमक चोकबाट जुलुससहित दमक नगरपालिका अगाडि पुगेका प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्नुका साथै नगरपालिकाको गेट तोडफोड गर्न खोजेपछि स्थिति तनावग्रस्त बनेको थियो ।

भीड अनियन्त्रित बन्दै गएपछि प्रहरीले हस्तक्षेपस्वरूप गोली चलाएको हो । स्थानीयका अनुसार प्रहरीको गोली लागेर झापाको कमल–५ का प्रकाश भट्टराई घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको र हाल दमक अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

प्रहरीले दिएको जानकारीअनुसार प्रदर्शनकारीले नगरपालिका परिसरमा रहेका केही मोटरसाइकलमा आगजनी गर्नुका साथै सीसी क्यामेरासमेत तोडफोड गरेका थिए । झापाका प्रहरी प्रमुख एसपी राजन लिम्बूले भीड नियन्त्रणबाहिर गएपछि हवाई फायर गरेको जानकारी आएको बताएका छन् । उनले थप सुरक्षा टोली घटनास्थलतर्फ पठाइएको र अवस्था पूर्ण रूपमा यकिन भइनसकेको जानकारी दिए । 

 यसैगरी भ्रष्टाचार, अव्यवस्था र सामाजिक सन्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध जेनजी पुस्ताका युवाहरुले झापाको बिर्तामोडमा पनि प्रदर्शन गरेका छन् । बिर्तामोडस्थित मुक्ति चोकमा भेला भएर प्रर्दशन शुरु उनीहरुले ‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका छन् ।

जेनजी पुस्तालाई विभिन्न राजनीतिक दल, जनप्रतिनिधि, कलाकार, विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्ति र स्वतन्त्र युवाहरुले समर्थन गरेका छन् । देशका अन्य शहरहरुमा युवाहरुले प्रर्दशन गरिरहेका छन् ।