झापा ।

जेनजी आन्दोलनका क्रममा अराजक समूहको तोडफोड र आगजनीबाट ध्वस्त भएको कोशी प्रदेशसभा सचिवालय आजदेखि प्रशासनिक सेवा सञ्चालन गरिने भएको छ । 

गत मंगलबार भएको आगलागीले प्रदेशसभा भवन र सचिवालय कार्यालयको ठूलो भाग जलेर नष्ट भएको थियो ।  मिडिया सेन्टरको कोठाबाट अस्थायी रूपमा प्रशासनिक काम सुरु गरिने सचिवालयका सूचना अधिकारी निरोज ढकालले जानकारी दिएका छन् । 

उनका अनुसार मिडिया सेन्टरमा तोडफोड भएपनि आगजनी नभएकाले टेबल–कुर्सी राखेर सेवा सञ्चालन गर्न सकिने भएको हो । सचिवालय भवनको सरसफाइ नभए पनि बाहिरी परिसर सफा गरिएको उनको भनाई छ । 

आगलागीका क्रममा प्रदेशसभा सचिवालयका नौवटा गाडी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुईवटा सवारीसाधन जलेका थिए । फर्निचर, कम्प्युटर, प्रिन्टर, क्यामेरा, एसी लगायतका उपकरण चोरीसमेत भएको सचिवालयको भनाइ छ ।

सचिवालयले चोरी भएका सामग्री फिर्ता गर्न सार्वजनिक सूचना जारी गर्दै सिसी क्यामेरा फुटेजको आधारमा फिर्ता नगरे कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।