सुरुङ्गा ।
जेनजी आन्दोलनका क्रममा मेरा दुई घर तोडफोड र आगजनी भए तर, त्यो भन्दा पनि नगरपालिकामा भएको क्षतिप्रति धेरै दुःख लागेको छ । आफ्नो व्यक्तिगत सम्पत्ती तोडफोड र आगजनी भन्दा पनि नगरवासीको लगानीले बनेको नगरपालिका तोडफोड र आगजनीबाट भएको क्षतिप्रति धेरै दुःख भएको कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताएका छन् ।
गत भदौं २३ र २४ गते देशव्यापी रुपमा भएको जेनजी आन्दोलनबाट कनकाई नगर पनि अछुतो रहेन । आन्दोलनका क्रममा झापा कनकाई नगरपालिकाका नगर प्रमुख पोखरेलको दुई वटा घरमा तोडफोड र आगजनी भएको थियो । तर, उनले आफ्ना दुई वटा घर भन्दा पनि जनताको सहयोग र करले बनेको नगरपालिकामा भएको क्षतिप्रति धेरै दुःख लागेको बताए ।
आगजनी र तोडफोडकै क्रममा उनको घरबाट ८० किलो सुन र दुई बोरा चाँदी फेला परेको अफवाहसमेत फैलिएको बताउँदै उनले पत्रकारिता सहि तरिकाले गर्न सञ्चारकर्मीलाई आग्रह गरेका छन् । उनले यहाँ स्थानीयलाई त थाहा छ राजेन्द्रको बारेमा तर, अन्य स्थानका मान्छेले त नकारात्मक सोच्ने अवस्था भएको छ । त्यस्ता गलत समाचार नफैलाउन नगर प्रमुख पाखरेलले सवै सञ्चारकर्मीलाई आग्रह गरेका छन् ।
‘जसले यस्तो कार्य गर्यो, ती मान्छेसँग रिस भन्दापनि एक खालको पीडा हुन्छ’ उनले भने ‘कहिले उनीहरुमा सकारात्मक सोचको विकास हुन्छ ।’ यसरी कहिले देशको विकास होला ? आज म छु नगरमा भोलि अर्को होला, तर यो प्रबृत्तिले देशमा बिकास गर्न मुस्किल छ ।’ उनले भने ।
तोडफोड र आगजनी गर्नेका फोटो छन्, भिडियो छन् भोलि उनीहरुलाई कारवाही गर्न सकिन्छ । तर, कारवाही भन्दा पनि सकारात्मक सोचका साथ आम रुपमा आएर माफी मागेर मन परिवर्तन गर्न नगर प्रमुख पोखरेलले सवैलाई सुझावसमेत दिएका छन् ।
- कनकाई नगरमा २ करोड वढीको क्षति भएको अनुमान: प्रमुख प्रशासकीय अधिकृत न्यौपाने
यता नगरपालिकामा आन्दोलनका क्रममा ९ वटा वडा मध्ये छ वटा वडा कार्यालय पूर्ण रुपमा क्षति भएको र नगरपालिकासहित तीन वटा वडा कार्यालय आशिक क्षति भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले जानकारी दिए ।
तोडफोड र आगजनीबाट पशु सेवा शाखा, दुई वटा आधारभूत स्वास्थ्य केन्द्र, दुई वटा मोटरसाइकल, तीन वटा साइकल पूर्ण रुपमा क्षति भएको र एउटा जेसीवी आंशिक क्षति, नगरपालिकाका कम्युटर, एसी, बत्ती, पंखा, सीसी क्यामेरा, कागजात, सुधारिएको चुलो नगरवासीका लागि वितरण गर्न राखिएको १५० वढी पूर्ण रुपमा क्षति भएको र नगरको भवन र अफिस आंशिक रुपमा क्षति हुँदा करिव २ करोड भन्दा वढीको क्षति भएको हुन सक्ने अनुमान गरिएको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए ।
गत मंगलबार क्षतिको मुचुल्का उठाएको बताउँदै प्रमुख प्रशासकीय अधिकृत न्यौपाने अशोज ५ वा ७ गतेदेखि अति आवश्यक सेवा प्रवाह गर्ने योजना रहेको बताएका छन् ।


















