शनिश्चरे ।

 झापाको अर्जुनधारा नगरपालिकाले आजदेखि आधारभूत सेवा पुनः सञ्चालन गरेको छ। गत भदौ २४ गते जेनजी आन्दोलनको नाममा भएको आगजनी र तोडफोडका कारण पूर्ण रूपमा अवरुद्ध बनेको सेवा अर्जुनधारा नगरले आजदेखि ( आइतबार) बाट आधारभूत सेवासञ्चालन गरेको छ। 

नगरपालिकाको विशेष योजना र जनप्रतिनिधि तथा कर्मचारीको अथक प्रयासका कारण १० दिनभित्रै अस्थायी रूपमा सेवा दिन थालिएको हो।अत्यावश्यक कागजी काम, जन्मदर्ता, मृत्युदर्ता, सिफारिस लगायत वडास्तरीय सेवा रोकिँदा नागरिक मर्कामा परेका थिए। 

आगजनीका कारण नगरका ११ वटै वडा कार्यालय क्षतिग्रस्त भएपछि सेवा अवरुद्ध भएको थियो। तर, सबै वडाध्यक्ष, सचिव, कर्मचारी र सदस्य जनप्रतिनिधिहरुले नगर कार्यपालिका सभाहलमै सामूहिक रूपमा सेवा दिन थालेपछि नगरवासीले ठूलो राहत अनुभव गरेका छन्।

नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणको प्रक्रिया पनि अघि बढाइसकेको छ। सम्बन्धित व्यक्तिको बैंक खातामा रकम जम्मा भइसकेको भएपनि बैंकको आन्तरिक प्राविधिक कारणले दशैंअघि भुक्तानी दिन नसक्ने भएको प्रमुख प्रशासकीय अधिकृत अनोजकुमार घिमिरेले जानकारी दिए।

पहिले सधैंजसो वडा कार्यालयमा सेवाग्राहीको भीड लाग्ने गरेको थियो, केही दिनको अवरोधपछि अहिले भीड अझ बढेको छ। एकैपटक धेरै काम गर्नुपर्ने भएकाले इन्टरनेट सर्भरमा समस्या आउँदा सेवाग्राहीको प्रतिक्षा समय केही लामो भएपनि वातानुकूलित हलमा सेवा पाउँदा सेवाग्राहीले सहज महसुस गरेका छन्।