झापा ।

 नेपालीहरुको महान पर्व बडादशैंको पहिलो दिन आज घटस्थापना पर्व मनाइँदैछ । आजबाट सुरु भएको बडादशैं आजबाट शुरु भएको हो । आज पहिलो दिन अर्थात घटस्थापना नवरात्रको पहिलो दिन माता शैलपुत्रीको पूजा गरेर मनाइने गरिन्छ । शास्त्रअनुसार शैलपुत्रीको पूजा गर्दा मानसिक शान्ति, पारिवारिक सुख, आध्यात्मिक उन्नति र शक्ति जागृत हुने विश्वास गरिएको छ ।

देवी दुर्गा माताका नौ रूपमध्ये पहिलो रूप शैलपुत्री हुन् । मार्कण्डेय पुराणअनुसार पर्वतराज हिमालयकी पुत्री भएकी कारण उनलाई हिमालयराजकी छोरी, पार्वती, सेती, हेमवती वा शैलपुत्री नामले चिनिन्छ । आश्विन शुक्ल प्रतिपदाको दिन शैलपुत्रीको पूजा तथा आराधना गर्ने प्रचलन छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।

गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई जौ छरेर विधिपूर्वक जमरा राखिन्छ । जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।