बिर्तामोड । 

जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको झापाको बिर्तामोडको इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन पुनःनिर्माण तथा मर्मत सम्भारका लागि संकलन भएको रकम भवन पुनःनिर्माण व्यवस्थापन गरिरहेको पक्षलाई हस्तान्तरण गरिएको छ । 

व्यापार व्यवसायीको छाता संस्था बिर्तामोड उद्योग बाणिज्य संघको सक्रियतामा संकलन गरिएको संकलित सहयोग रकम भवन पुनःनिर्माण व्यवस्थापनमा सक्रिय युवा व्यवसायी तथा सामाजिक व्यक्तित्व पदम श्रेष्ठ, बिपिन बजगाँईलाई हस्तान्तरण गरिएको हो । 

बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, महासचिव कुसल खतिवडा, उपाध्यक्ष बिशाल थापासहित पदाधिकारी तथा सदस्यहरुले बिर्तामोडका व्यपारी तथा व्यवसायी, उद्योगीहरुसँग शुक्रवारसम्म संकलन भएको सहयोग रकम निर्माण पक्षलाई हस्तान्तरण गरेको छ । 

आन्दोलनका क्रममा बिर्तामोडको प्रहरी र ट्राफिक प्रहरी कार्यालय विस्तापित हुँदा शान्ति सुरक्षा वढेपछि स्थानीय युवाहरु पदम श्रेष्ठ, बिपिन बजगाँई, रमेश चौधरी, सजेश शिवाकोटीलगायत अगुवाईमा पुनःनिर्माण तथा मर्मत सम्भार कार्य शुरु गरिएको थियो । 

बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले प्रहरी तथा ट्राफिक प्रहरी कार्यालय बिस्तापित हुँदा शान्ति सुरक्षामा चुनौती बढेको बताउँदै युवाहरुको सक्रियातामा भवन पुनःनिर्माण तथा मर्मत सम्भार भइरहेको बताउँदै सवैले सकेको सहयोग गरिदिन अपिल गरेका छन् । उनले संघले पनि पुनःनिर्माणमा सहजीकरण गरिरहेको बताउँदै शुक्रबारसम्म संकलन भएको रकम व्यवस्थापन पक्षलाई दिएको र आगामी दिनमा पनि संकलन भएको रकम हस्तान्तरण गर्ने बताए । 

पदम श्रेष्ठका अनुसार पुनःनिर्माणमा ७० लाख वढी लाग्ने अनुमान गरिएको भएपनि हालसम्म २० लाख रुपैयाँ मात्र संकलन भएको र धेरैले सहयोग गर्ने आश्वसन दिएको र सहयोग जुट्ने क्रम जारी रहेको बताए । उनले दशैअघि ११ वटा भवन मध्ये १० वटा सम्पन्न गर्ने प्रहरी र ट्राफिक प्रहरीलाई कार्यसम्पादनमा सहजता गर्ने गरी काम भइरहेको बताएका छन् ।