झापा । 

भोलि अर्थात शुक्रबाट यी स्थानमामा भारीदेखि अति भारी बर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले मनसुन सक्रिय हुन थालेकाले असोज १८ देखि २० गतेसम्म विशेष सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । भोलि असोज १७ गतेबाट असोज २० गतेसम्म खास गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको छ ।

विभागका अनुसार बंगालको खाडीमा विकसित भएको न्यून चापीय मौसमी प्रणाली भारतको ओडिसाबाट जमिनको भू–भागमा प्रवेश गरी मध्य भारततर्फ क्रमश सर्ने र त्यसको प्रभावले नेपालमा वर्षा गराउनेछ ।

त्यो वर्षाले विशेषगरी वागमती प्रदेशका काठमाडौं उपत्यकासहित काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवनमा बाढी, पहिरो र डुबानको जोखिम हुने जनाइएको छ । यसैगरी कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङमा पनि जोखिम हुने ठानिएको छ । यस्तै मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्लालाई पनि जोखिम सूचीमा राखिएको छ ।

यी जिल्लाहरुमा नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहेकाले असोज १८ गतेदेखि २० गतेसम्म विशेष सतर्कता अपनाउन विभागले विशेष बुलेटिन जारी गरेर अनुरोध गरेको छ । हालको विश्लेषणअनुसार नारायणी, बागमती, कमला र कोशी नदी र यीनका सहायक नदीहरुमा बहाव उल्लेख्य बढ्ने र खतरा तह आसपास पुग्न सक्ने सम्भावना छ । साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका महाभारत, चुरे भई बहने स–साना नदीनालाहरुमा आकस्मिक बहाव हुन सक्ने सम्भावना समेत छ ।

यस वर्षाका कारण बाढी, डुबान, पहिरो, भूक्षय लगायतका जोखिमका साथै सडक तथा हवाई यातायात समेत प्रभावित हुने सम्भावना छ । त्यसैले सम्भावित क्षति न्यूनीकरणका लागि विभागबाट नियमित रूपमा जारी हुने अध्यावधिक पूर्वानुमान तथा पूर्वसूचनाहरूमा चासो राख्न र आवश्यक सतर्कता अपनाउन विभागले सबैलाई अनुरोध गरेको छ । मौसमविद्हरु  विभिन्न मोडलहरू हेर्दा दशैंलगत्तै पोहोरजस्तो भिषण पानी पर्ने सम्भावना देखिएको बताउँछन् ।

barsa