बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिका–६ गिरी बन्धु टि–स्टेट अगाडी पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएको छन ।
बडादशैंको मुख्य टीकाको दिन बिराटनगरबाट काँकरभिट्टातर्फ जाँदै गरेको प्र १–०१–००१ ख ४४५९ का सगरमाथा यातायातको यात्रु बाहक बस आफै अनियन्त्रित भएर आज (बिहीवार) बिहान ९ः३० बजेको समयमा दुर्घटना भएको थियो ।
दुर्घटनामा सुनसरीको इटहरी–११ का ४६ बर्षीय दिनेशकुमार भट्टराई र मोरङको रंगेली नगरपालिका–२ का ४२ बर्षीय राजकुमार चौधरी (बसको कन्टेक्टर) को मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी विजय श्रेष्ठले जानकारी दिए ।
घाइतेहरुमा सुनसरीको इटहरी–११ का ३८ बर्षीय गुलसनराज शर्मा, उनकी श्रीमती ३६ बर्षीय अंकिता शर्मा, उनकै छोरी ६ बर्षीया मनसुइ शर्मा, सोही स्थानकी ३७ बर्षीया बिनु शर्मा, बसका सह–चालक मोरङको बिराटनगर महानगरपालिका–२ का का ४२ बर्षीया सोमकुमार भुजेल, पाँचथरको कुमायक गाउँपालिका–६ का २८ बर्षीया गंगा लिम्बु रहेका छन् ।
यसैगरी कमल गाउँपालिका–७ का ८ बर्षीय सुभाष लावती (लोजिहाङ लावती), सोही स्थानकी २३ बर्षीया, सुहाना लिम्बु, उनकै भतिजो ५ बर्षीय मेङ्सो लिम्बु, मोरङको बिराटनगर महानगरपालिका–१ की १७ बर्षीया अनुषा भट्टराई, सोही स्थानकी ३६ बर्षीया मन्जु खतिवडा, झापा दमक नगरपालिका–१ कि ६० बर्षीया राधिका खतिवडा र ताप्लेजुङको फाक्ताललुङ गाउँपालिका–१ का राकेश लिम्बु घाइते भएका छन् ।
घाइतेहरु मध्ये कोही मध्ययम र कोही सामान्य रहेका प्रहरीले जनाएको छ । जानकारी प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली घटना स्थल पुगेर उद्दार गरी घाइतेहरु तथा मृतकलाई बीएण्डसी अस्पताल पठाइएको र बस चालक तत्काल फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















