झापा ।
जिल्ला प्रशासन कार्यालय झापाले मनसूनजन्य विपद जोखिमबाट जोगिन सवैमा आग्रह गरेको छ । आज अर्थात असोज १८ गतेदेखि २० गतेसम्म कोशी प्रदेशलगायत देशका विभिन्न भागमा ठूलो पानी पर्ने जल तथा मौसम विज्ञान विभागको पुर्वानुमान रहेको प्रशासनले जनाएको छ । विभिन्न स्थानमा हुनसक्ने डुबान तथा बाढि पहिरोबाट जोगिन आवश्यक सजगता अपनाउनका साथै ६ बुँदे जोखिम ब्यवस्थापन सार्वजनिक गरेको छ ।
असोज १८, १९ र २० गते अत्यावश्यक अवस्थामा बाहेक यात्रामा ननिस्कनु हुन र अत्यन्त जरुरी काम परेर निस्कनै पर्ने अवस्थामा समेत मौसमको अवस्था बुझेर छोटो दुरिको यात्रामा मात्र निस्कन आग्रह, झापाबाट काठमाडौं जाँदा प्रयोग गरिने विपी राजमार्ग, कान्ति लोकमार्ग, हेटौंडा–कुलेखानी–दक्षिणकाली सडक, त्रिभुवन राजपथ तथा चितवन भएर जाँदा प्रयोग हुने चितवन–मुग्लिन–नौबिसे– काठमाडौ सडक खण्डका बिभिन्न ठाउँमा पहिरो जानेक्रम चलिरहकाले उक्त सडकखण्डमा रात्रिकालिन यातायात सञ्चालन गर्नु जोखिमपूर्ण हुने तथा स्थानीय प्रशासनले ती ठाउँमा रातीमा गाडी चलाउन बन्देज समेत लगाएको हुँदा उक्त स्थान भएर जाने गरी रातिको यात्रा नगर्न आग्रह गरिएको छ ।
यस्तै मेची, बिरीड, कनकाई लगायतका नदी खोला किनारमा रहेका घरपरिवारका महानुभावहरुले आफुले प्रयोग गरिरहेको औषधी, लगाउने लुगाकपडा, लालपूर्जा, नागरिकता, नगद, गरगहना तथा अन्य अत्यावश्यक र बहुमूल्य सामग्री तत्काल बोकेर हिड्न मिल्ने गरी सुरक्षित पोको बनाई राख्न र बाढी, डुवानको अवस्था आइपरेमा त्यस्तो पोको झोला समेत लिई समयमै सम्बन्धित वडा कार्यालयले तोकेको सुरक्षित स्थानमा सर्न आग्रह, स्थानीय तहहरुले बाढी, डुवानको जोखीममा रहेका आफ्नो क्षेत्रका मानिसहरुको उद्दारका लागि स्थानीय सुरक्षा निकाय, संघसंस्था, स्वयंसेवक लगायतसँग आवश्यक समन्वय गरी तयारी अवस्थामा राख्न हुन तथा उद्दार पश्चात राख्न पहिचान गरिएका स्थान (विद्यालय, सामुदायिक भवनलगायतको सरसफाई गराई राख्न तथा ती भवनको तालाचावी बोक्ने व्यक्तिलाई सम्पर्कमा राखि राख्न सवैमा आग्रह गरिएको छ ।
यसैगरी उद्योगी, व्यापारी, व्यवसायी एवं विपदमा सहयोग गरी मानवसेवा गर्न इच्छुक संघ–संस्था, महानुभावहरुले स्थानीय तह तथा जिल्ला प्रशासन कार्यलयसँग सम्पर्क समन्वय गर्न आग्रह, गलत सूचनाले आममानिससा अनावश्यक त्रास फैल्याउने, क्षति धेरै हुनलगायत भएकाले सामाजिक सञ्जालमा विपद् सम्बन्धी सामग्री सम्प्रेषण गर्नु हुनेले तथ्यमा आधारित सामग्री मात्र सम्प्रेषण गर्न आग्रह र सबै मिलेर सम्भावित विपदको सामना गर्न र जनधनको क्षति हुन नदिन सचेत नागरिक सबैले हातेमालो गर्न आज (शनिवार) प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी एक सूचना जारी गर्दै जानकारी गराएका छन् ।



















