धुलाबारी ।
मेचीनगर–९ को मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह विट नं १ ले वन संरक्षण तथा प्रवद्र्धनका लागि आगामी रणनीति तय गर्दै ३० औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न गरेको छ । सोही अवसरमा वन समूहले विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरेको छ ।
साधारण सभाले चालु आर्थिक वर्षका लागि ५९ लाख ९२ हजार २६२ रुपैयाँ अनुमानित बजेट अनुमोदन गरेको छ । वन संरक्षण गर्दै उपभोक्ता लक्षित कार्यक्रम सञ्चालन गर्नका लागि उक्त बजेट विनियोजन गरिएको हो । उक्त सावले पर्यापर्यटन सिमसार क्षेत्र पनि सञ्चालन गर्दै आएको छ ।
लामो इतिहास बोकेको मागुरमाडी वन समूहले साधारण सभामा सहयोगी संस्था तथा व्यक्ति, कर्मचारी र वन हेरालुलाई सम्मान गरेको छ । सिमसार तथा पर्यटन विकासमा आर्थिक सहयोग गर्ने स्व. भिममाया बस्नेत, बसुन्धरा आचार्य, वृक्षारोपण गरी वातावरण संरक्षणमा योगदान पुर्याएवापत श्री सत्य साई समिति प्रदेश नं १ र हरि आधारभूत विद्यालयलाई सम्मान गरिएको छ ।
यस्तै, वन डढेलो नियन्त्रणमा सहयोग पुर्याउने उपभोक्ता पूर्णबहादुर राउत, मनोज लावती, बलबहादुर घिमिरेप्रति धन्याद व्यक्त गरिएको छ । यसैगरी, कार्यालय सचिव तिर्थबहादुर खड्का, वन हेरालु कर्मचारी पूर्णबहादुर बानियाँ र कार्यालय सहयोगी धनभक्त लिम्बूलाई पनि सम्मान गरिएको छ ।
सामुदायिक वनका अध्यक्ष अम्बरबहादुर लिम्बूको अध्यक्षता तथा मेचीनगर वडा नं ९ का वडाध्यक्ष कञ्चनकुमार तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ मेचीनगर समिति अध्यक्ष जानुका ओली, मेची सव डिभिजन कार्यालयका सहायक वन अधिकृत डिल्लीराम खरेल, कालिका सामुदायिक वनकी सचिव बालिका न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा समाजसेवी मणिकुमार उप्रेती, खुट्टीडाँगी सावका अध्यक्ष टंकबहादुर नेपाल, स्वबोध साधना केन्द्र मेचीनगरका उपाध्यक्ष रुद्र फुयल लगायतको आतिथ्यता रहेको थियो ।
वन समूहका अध्यक्ष अम्बरबहादुर लिम्बूको अध्यक्षता, कार्यालय सचिव तिर्थबहादुर खड्काको सञ्चालन तथा उपाध्यक्ष जोखेन मेचेले स्वागत गरेका थिए । चुनावी साधारण सभा भएकाले निर्वाचन समिति बनाएर काम अघि बढाइएको छ । वन समूहको नयाँ नेतृत्व चयनका लागि राजनीतिक दलहरु उम्मेदवार छान्न कसरत गरिरहेका छन् । चुनावमा कांग्रेस, एमाले, माओवादी तथा रास्वपा पार्टी एक्लाएक्लै लड्ने मनस्थितिमा देखिँदैनन् । त्यसैले चुनावमा पार्टीहरुले तालमेल गरेर उम्मेदवार बनाउने सम्भावना बढेर गएको एक उपभोक्ताले बताए ।


















