बिर्तामोड ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष उमेश थालमियाले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी सदस्य राहत कोष’मा आर्थिक सहयोग गरेका छन् ।
आफ्नो जन्म दिनको अवसर पारेर डालमियाले एक करोडको लक्ष्य सहित स्थापना गरिएको राहत कोषमा २५ हजार रुपैयाँ प्रदान गरेका हुन् । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलाई केन्द्रीय सदस्य डालमियाले उक्त रकम हस्तान्तरण गरेका थिए ।
रकम हस्तान्तरण समारोहमा बोल्दै आफ्नो कार्यकालमासमेत हुन नसकेको र सबै व्यवसायीको हितका लागि साझा कामको शुरुवात गरेको भन्दै डालमियाले खुशी ब्यक्त गरेका थिए । उनले कोषमा अन्य उद्योगी व्यवसायीलाई समेत जोड्ने प्रतिवद्धता जनाउँदै कोषको लक्ष्य अनुसार एक करोड रुपैयाँ पु¥याउन आफ्नो तर्फबाट हुन सक्ने थप सहयोग गर्ने जनाएका छन् ।
बिर्तामोडस्थित वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा कोषमा रकम प्रदान गर्ने डालमियालाई कदरपत्रद्वारा सम्मान गरिएको थियो । संघका अध्यक्ष न्यौपानेले केन्द्रीय सदस्य डालमियालाई जन्म दिनको शुभकामना सहित कदरपत्र हस्तान्तरण गरेका थिए ।
संघका महासचिव कुशल खतिवडाले सञ्चालन गरेको कार्यक्रममा संघका विशिष्ठ सदस्य निर्मल भट्टराई, उद्योग उपाध्यक्ष विशला थापा, वाणिज्य उपाध्यक्ष जीवनकुमार खड्का, वाणिज्य सचिव राजकुमार शाह, सदस्यहरु केदार खनाल, सुशीला कुमारी कार्की, सुष्मा उप्रेती सुवेदी, विशेश्वरप्रसाद बजगाई वीपिन लगायतको उपस्थिति रहेको थियो ।


















