शनिश्चरे ।
झापाको अर्जुनधारा नगरपालिकाले प्रारम्भिक वातावरणीय परिक्षण (आइइइ) को प्रारम्भिक प्रतिवेदनको सार्वजनिक सुनुवाई गर्ने भएको छ । नगरले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि बिरिङ्ग र टाङटिङ खोला तथा सोमा मिसिने खोलाहरुबाट नदीजन्य पदार्थ उत्खनन तथा व्यवस्थापन सम्बन्धमा आईईई गर्ने भएको हो ।
नदीजन्य पदाथ ढुंगा, गिट्टि, वालुवा उत्खनन तथा व्यवस्थापन सम्बन्धमा प्रारम्भिक वातावरणीय परिक्षण को प्रारम्भिक प्रतिवेदनको सम्बन्धमा सञ्चालन हुने भनिएको सार्वजनिक सुनुवाई कार्यक्रम देशमा भएको जेन जेड आन्दोलनबाट उत्पन्न परिस्थितिको कारणले स्थगन गरिएको थियो ।
उक्त सार्वजनिक कार्यक्रम आगामी असोज ३१ गते सञ्चालन गरिने भएको नगरपालिकाले सूचना जारी गरी जानकारी गराएको हो । अर्जुनधारा–१ को कार्यालयमा बिहान ८ बजे र अर्जुनधारा–४, ५ र ७ को लागि वडा नम्बर ४ स्थित विन्ध्यवासिनी मन्दिरको प्राङ्गण दिउँसो १ बजेदेखि गरिने प्रमुख प्रशासकीय अधिकृत अनोजकुमार घिमिरेद्धारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
उक्त सार्वजनिक सुनुवाईमा स्थानीय राजनीतिक दलका प्रतिनिधि, सामुदायिक वन, जलाधार समितिको पदाधिकारी, विपद् व्यवस्थापन समितिको पदाधिकारी, टोल विकास संस्थाका पदाधिकारी, स्थानीय सञ्चारकर्मी, स्थानीय खोला मजदुर तथा ट्रयाक्टर व्यवसायीको प्रतिनिधी, स्थानीय समाजसेवी तथा बुद्धिजीवी र खोलाबाट प्रभावित व्यक्तिहरुलाई सहभागिताको लागि नगरले आग्रह गरेको छ ।



















