झापा ।
झापामा पनि छठ आजदेखि औपचारिक रूपमा शुरु भएको छ । झापाका बिभिन्न खोलानाला, पोखरीलगायतलाई छठका लागि विभिन्न समितिले सरसफाइ र सजावटको काम गरिरहेका छन् ।
झापाको बिरिङ, मेची नदी, अदुवा खोला, रतुवा खोला, कनकाई माई नदीलगायत पोखरी र स्थानयी खोलानालासहित जलशाय भएका स्थानलाई छठ पूजाका लागि सम्बन्धीत समितिहरुले सरसफाई र सजावट गरिरहेका छन् । छठ पर्वमा बर्तालुले चार दिनसम्म मनाउने र दुई दिन बिना अन्नपानीको भोकै बस्ने गर्छन् । जस अन्तरगत आज पहिलो दिन ‘नहाय–खाएु विधिबाट पर्व शुरु भएको छ ।
यो पर्वमा घरमा उत्पादन गरिएका वा आफ्नै खेतबारीमा उत्पादन गरेको गहुँ, चामलजस्ता अन्नको व्यवस्था गरेर त्यसलाई धोई–पखाली घरकै जाँतोमा पिसेर त्यसको पिठोबाट छठका सामग्रीहरू बनाउने गरिन्छ।
चार दिनसम्म मनाइने यस पर्वमा बर्तालुले दुई दिन बिना अन्नपानीको भोकै बस्नुपर्छ। यस पर्वअन्तर्गत पहिलो दिन आज ‘नहाय–खाए’ हुनेछ। दोस्रो दिन आइतबार दिनभरि उपवास बसी रातिमा ‘खीर’ बनाई देउतालाई चढाएर खानेछन्।
यो विधिलाई ‘खरना’ भनिन्छ। त्यस्तै, मूल दिन सोमबार ठेकुवा, भुसवालगायत कृषिजन्य अन्नको पिठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटोलगायत सामग्रीको व्यवस्था गरी साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अर्घ दिइन्छ। यस्तै, छठ पर्वको अन्तिम दिन मङ्गलबार बिहानपख उदाउँदै गरेको सूर्यलाई अर्घ दिएर पर्वको समापन गरिनेछ।


















