शनिश्चरे।
जेनजीका नाममा भएको बिध्वंसपछि अर्जुनधारा नगरपालिकाले बुधबार बिषेश नगरसभाको अधिवेसन सम्पन्न गरेको छ । आन्दोलनमा नगरको ठुलो भौतिक क्षति भएपछि नगरपालिकाले बिषेश अधिवेसन गरेर बार्षिक बजेट, नीति तथा कार्यक्रममा समावेश गर्नका लागि नगर सभाको बिषेश अधिवेसन आह्वान गरेको हो ।
नगरपालिकाले ३ करोड ५० लाख ३७ हजार ३४३ बराबरको रकम संसोधन गरेको जनाएको छ । नगरपालिका र बिषयगत शाखाबाट २ करोड ८१ लाख ७ हजार ३४३ र वडाको सिलिङबाट ७ प्रतिशतका दरले बजेट कटौती भएका उपप्रमुख खड्गमाया पराजुलीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
शिक्षा, स्वास्थ्य, कृषि, भ्रमण, महिला बालबालिका, पशुपंक्षी, सामाजिक विकास तथा सौन्दयीकरण लगायतका क्षेत्रको बजेटमा कटौती भएको प्रतिवेदनमा उल्लेख छ । कटौती भएको रकमबाट वडा कार्यालय निर्माण, मर्मत, फर्निचर खरीद लगायत पुनर्सरचना तथा नयाँ निर्माणका लागि आवश्यक योजना अघि सारिएको छ ।
आन्दोलनका नाममा नगरपालिकाको भवनसहित ११ वटै वडा कार्यालयमा आगजनी गरिएको थियो । आगजनीबाट नगरपालिकामा राखिएका हेभी तथा साना सवारी साधन, फर्निचर, बिद्युतीय उपकरण तथा कागजपत्र नष्ट भएको थियो । यसैगरी ११ वटै वडा कार्यालय पूर्ण रुपले जलेर नष्ट भएको थियो ।
जलेका मध्ये वडा नम्बर ८ को भवन नयाँ बनाउनु पर्ने अवस्थामा छ । त्यसका लागि बजेट बिनियोजन गरिएको छ । वडा नम्बर ४ को भवन रेट्रोफिट गर्नुपर्ने अवस्था छ । त्यसका अतिरिक्त अन्य वडा कार्यालय भवन पुननिर्माण गरेर सञ्चालनको चरणमा छन् ।
आगजनीबाट अर्जुनधारा नगरपालिकामा १५ करोड बराबरको भोतिक क्षति भएको प्रमुख प्रशासकीय अधिकृत अनोजकुमार घिमिरेले जानकारी दिए । उनले हेभी सवारी साधन, मेशिनरी उपकरण, हलुका सवारी साधन, मोटरसाइकल र स्कुटर गरी जम्मा १६ वटा जलेर नष्ट भएको बताए । साथै बिद्युतीय उपकरण, कम्प्युटर, प्रिन्टर, ल्यापटप, गरेर १९० थान र फर्निचरतर्फ कुर्सी, अफिस टेबल तथा अन्य फर्निचरहरु गरी १ हजार १५६ थान जलाइएको जानकारी दिए ।
जनतासँग प्रत्यक्ष जोडिएका कार्यक्रमको बजेट कटौती गरेर संसोधन गरिंदा यो बर्ष नागरिकको अपेक्षा पूरा गर्न नसक्ने अवस्था सृजना भएको नगरप्रमुख बलदेबसिंह गोम्देनले बताए । उनले आन्दोलनमा नगरमा भएको क्षतिका कारण सहज ढंगबाट सेवा प्रदान गर्न नसकिएको बताए । आन्दोलनका कारण सरकारका प्राथमिकता फेरिएको बताउँदै गोम्देनले जनतालाई जतिसक्दो सुविधा दिनेमा प्रतिबद्ध रहेको बताए ।


















