झापा ।
वैदेशिक रोजगारका लागि नेपाली इजाजतपत्र कम्पनीहरूको मापदण्ड तोक्ने मलेसिया सरकारको निर्णयप्रति वैदेशिक रोजगार व्यवसायीहरूले संस्थागत रूपमा तीव्र विरोध जनाएका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च, एकीकृत वैदेशिक रोजगार व्यवसायी संस्थालगायतले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेर विरोध जनाएका हुन् । उनीहरूले लामो समयदेखि बन्द रहेको मलेसियाको रोजगारी पूर्णरूपमा खुला हुने तयारी रहेको अवस्थामा विभिन्न मापदण्डका नाममा नेपाली म्यानपावर कम्पनीहरूलाई वर्गीकरण गर्ने प्रयास गरेर गलत गरेको बताएका छन् ।
संघले विज्ञप्ति जारी गर्दै मलेसियाले नेपाली राजदूतावासमार्फत नेपाल सरकारलाई पठाएको १० बुँदे मापदण्डले सीमित व्यवसायीलाई मात्र मलेसिया रोजगारीमा काम गर्न अनुमति दिने गरी सिन्डिकेट खडा गर्ने दुष्प्रयास भइरहेको स्पष्ट देखिएको जनाएको छ ।
जारी विज्ञप्तिमा सिन्डिकेटविरुद्ध सम्पूर्ण व्यवसायीलाई एकजुट हुन आह्वान गर्दै सिन्डिकेटधारीहरूका प्रस्ताव वा सम्झौतामा सहभागी हुने, समर्थन गर्ने वा सहमति जनाउने कुनै पनि निकाय, व्यक्ति, व्यवसायी, संस्था वा समूहलाई संघले आवश्यक ठानेको जुनसुकै निर्णय लिन वा कारबाही गर्न पछि नहट्ने उल्लेख गरिएको छ ।
संघले यस अवस्थाप्रति श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग र परराष्ट्र मन्त्रालयको समेत विशेष ध्यानाकर्षण गराउँदै यस्ता सिन्डिकेट प्रवृत्तिलाई कुनैपनि रूपमा स्वीकृति नदिन आग्रह गरेको छ ।


















