झापा । 

वैदेशिक रोजगारी व्यवसायीहरूले मलेसियाको रोजगारी व्यवस्थित गर्ने नाममा हुन थालेको सिन्डिकेटलाई परास्त गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघद्वारा गठित संघर्ष समितिको आयोजनामा मंगलबार  भएको बृहत् व्यवसायी भेलामा व्यवसायीहरूले हातमा कालोपट्टी बाँधेर ‘नो सिन्डिकेट’ व्यानरसहित सो प्रतिबद्धता जनाएका हुन् ।

व्यवसायी भेलामा वरिष्ठ व्यवसायी हेमबहादुर गुरुङ, ललितपुर वैदेशिक रोजगार व्यवसायी समाजका अध्यक्ष एवं संघका सल्लाहकार नवराज केसी, संघका सल्लाहकार तथा पूर्वअध्यक्ष तिलकबहादुर रानाभाट, राजेन्द्र भण्डारी, हरिबहादुर पाण्डे क्षेत्री, पूर्वअध्यक्षहरू दिलप्रसाद पोखरेल, प्रेमबहादुर कटुवाल, विमल ढकाल, रोहन गुरुङ, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष दीपक थापा, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष जनक रावल, नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका अध्यक्ष धनलाल जैसी, वैदेशिक रोजगार व्यवसायी नेवा समाजका अध्यक्ष किसन प्रधानको उपस्थिति रहेको थियो ।

त्यस्तै, भेलामा वैदेशिक रोजगार व्यवसायी तमुधी समाजका अध्यक्ष तीर्थबहादुर गुरुङ, एकिकृत वैदेशिक रोजगार व्यवसायी संस्थाका उपाध्यक्ष बाबुराम खड्का, वैदेशिक रोजगार व्यवसायी महिला संघकी उपाध्यक्ष तारा रेग्मी, व्यवसायी मदनकुमार महत, वैदेशिक रोजगार युवा व्यवसायी संघका अध्यक्ष सुमनराज पाण्डेलगायतको उपस्थिति रहेको थियो ।

संघका अध्यक्ष भुवनसिंह गुरुङले आफ्नो संघको गत निर्वाचनको मुख्य एजेन्डा नै सिन्डिकेटको विरोध रहेको बताउँदै वर्तमान कार्यसमिति सिन्डिकेटविरुद्ध कडाइका साथ उभिएको बताएका थिए । उनले संघको कार्यसमिति सिन्डिकेटविरुद्ध प्रतिबद्ध रहेको बताउँदै वर्तमान कार्यसमिति सिन्डिकेटमा नफस्ने स्पष्ट पारेका थिए ।  

अध्यक्ष गुरुङले एक हजार ६२ वैदेशिक रोजगार व्यवसायीमध्ये अझै २ सय ४५ व्यवसायीको सिन्डिकेटविरोधी प्रतिबद्धता प्राप्त नभएको र सबैको प्रतिबद्धता आएपछि संघले व्यवसायीहरूको प्रतिबद्धतासहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाउने जानकारी दिए ।