झापा  । 

भारतको बिहार राज्यमा हुने दोस्रो चरणको विधानसभा निर्वाचनलाई लक्षित गर्दै सर्लाही, महोत्तरी, रौतहटलगायतका जिल्लामा पर्ने नेपाल–भारत सीमा नाका तीन दिनका लागि पूर्ण रूपमा बन्द हुने भएका छन् । 

 दोस्रो चरणको विधानसभा निर्वाचनलाई लक्षित गर्दै शान्ति–सुरक्षाको दृष्टिले दुवै देशका प्रशासनबीचको सहमति अनुसार सीमा नाका ‘सिल’ गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार कात्तिक २२ गते अर्थात आज शनिबार साँझ ६ बजेदेखि बन्द गरिने सीमा नाका कात्तिक २५ गते साँझ ६ बजेपछि मात्रै पुनः खोलिनेछ । यस अवधिमा आकस्मिक सेवाबाहेक सबै प्रकारका सवारीसाधन, मानिस र सामानको आवागमन पूर्णरूपमा रोक लगाइनेछ ।

भारतमा निर्वाचनका क्रममा कुनै अप्रिय घटना वा गैरकानुनी गतिविधि हुन नदिन नेपाल–भारत दुवै देशका सुरक्षाकर्मी सतर्क भएका छन् । स्थानीय प्रशासनबीच समन्वय गरी नाकामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र सशस्त्र सीमा बल (एसएसबी) का जवानलाई परिचालन गरिएको छ ।