झापा । 

युएईमा रहेका नेपालीहरूले जेनजी आन्दोलनमा भएको क्षतिमध्ये कुनै एउटा संरचना निर्माण गर्न सकिने बताएका छन् । युएईस्थित नेपाली दूतावासले आयोजना गरेको ‘राष्ट्र निर्माणमा गैरआवासीय नेपालीको योगदान र भूमिका’ विषयक एक अन्तरक्रियामा नेपालीहरूले उक्त प्रतिबद्धता जनाएका हुन् ।

नेपालमा गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट क्षति भएका सरकारी तथा सार्वजनिक भौतिक संरचनाहरूको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनर्स्थापनासम्बन्धी कार्यका लागि युएईमा रहेको नेपाली समुदायद्वारा के कस्तो योगदान गर्न सकिन्छ भन्ने विषयमा नेपाली दूतावासले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।

युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माणका लागि आवश्यक आर्थिक स्रोतको व्यवस्था गर्न नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबारे जानकारी गराएपछि नेपालीहरूले उक्त प्रतिबद्धता जनाएका हुन् । राजदूत क्षेत्रीले भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना भएको जानकारी गराउँदै राष्ट्र पुनर्निर्माणको महान अभियानमा गैरआवासीय नेपाली समुदायलाई आ–आफ्नो क्षेत्रबाट सक्दो योगदान गर्न आग्रह गरे ।

छलफलमा सहभागी नेपालीहरूले नेपाल सरकारले राष्ट्र पुनर्निर्माणका लागि गरेको आह्वानको स्वागत गर्दै सबै संघसंस्था र समाजले सामूहिक रुपमा आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता प्रकट गरे । नेपालीहरूले क्षति भएका सरकारी तथा सार्वजनिक संरचनाहरूको पुनर्निर्माणमा सहयोग गर्ने तरिका, कोष सञ्चालनमा पारदर्शिता भएमा आपसी छलफल गरी युएईको नेपाली समुदायले सामूहिक रूपमा कुनै एउटा संरचना निर्माण गर्न सक्ने जानकारी गराएको नेपाली दूतावासले जनाएको छ ।  

सहभागीहरूले दूतावासको सेवा प्रवाह सन्तोषजनक भएपनि राहदानी बनेर आउन धेरै समय लाग्ने गरेका कारण नेपालीहरू समस्यामा पर्ने गरेको कुरालाई गम्भीरतापूर्वक लिइदिन दूतावाससमक्ष आग्रह गरे । उनीहरूले आगामी दिनमा युएईमा रहेका नेपालीहरूलाई युएईको नियम, कानुन परिपालन गर्ने तथा सबै नागरिक स्वयं सचेत र अनुशासित हुन आवश्यक रहेकाले सचेतना अभियानहरू सञ्चालन गर्न आवश्यक रहेको विषयमा दूतावासको ध्यानाकर्षण गराए ।