झापा । 

नक्कली म्यानपावर सञ्चालन गरेर भिजिट भिसाको नाममा लाखौं रकम ठगी गर्दा ठुलो संख्यामा नेपालीहरु हाल अलपत्र अवस्थामा रहेको खुलेको छ ।  चितवनको भरतपुर बाइपास रोडमा खोलिएको एक नक्कली म्यानपावर कम्पनीले ठुलो संख्यामा नेपालीलाई भिजिट भिसामा स्लोभाकिया पुर्याएरअलपत्र पारेको खुलासा भएको हो ।

करिब ६ महिनाअघि भरतपुरका दुई सय जना युवालाई ‘वर्क कन्ट्रोल’ भिसामार्फत स्लोभाकिया पठाइएकोमा उनीहरू हाल काम र तलब नपाएको अवस्थामा रहेको बताइएको छ । आफूहरूले उड्नु अघि एजेन्टलाई १४ लाखसम्म तिरेको पीडितहरूले बताएका छन् । 

मासिक एक हजार युरो तलबसहित खानालगायतका सुविधा दिने भनेर पठाएकोमा हाल सय जनालाई तलबको आधा रकम दिइएको र अन्य बिना तलब रहेको बताइएको छ ।

ठगी धन्दामा भारत र बंगलादेशका व्यक्तिहरू पनि संलग्न रहेको कतिपयले बताएका छन् । सुरुको तीन महिनाको नेसनल डी–भिसा र त्यसपछि टेम्पोररी रेसिडेन्स कार्ड (टिआरसी) दिने  भनिएकोमा ६ महिना बितिसक्दा पनि कुनै कार्ड नबनेको पीडितहरूको भनाइ छ ।