हल्दीवारी । 

झापाको हल्दीबारी–३ को देउनिया आर्यघाट क्षेत्रमा विभिन्न स्थानीय संघ–संस्थाहरूको संयुक्त प्रयासमा बृहत् सरसफाइ तथा झाडी फडानी कार्यक्रम सम्पन्न गरिएको छ। 

सार्वजनिक स्थललाई सुरक्षित र व्यवस्थित बनाउने उदेश्यले आयोजना गरिएको अभियानको संयोजन वडा अध्यक्ष बिष्णु प्रसाद ओलीले गरेका थिए। सफाइ कार्यक्रममा वडा सदस्य अजित कुमार बिष्ट, कर्ण भण्डारी, ढडुवा युवा क्लब परिवारका अध्यक्ष गोपाल न्यौपाने, सचिव अभिषेक खतिवडा, रणकाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष धनबहादुर सावा, सचिव अर्जुन गिरी, शुरेश्वर स्वर्गद्वारी शिवलय मन्दिर व्यवस्थापन समिति अध्यक्ष गोविन्द बोहोरा तथा जलथल प्रहरी चौकी प्रमुख सञ्जीव चौधरीलगायतको सहभागिता उल्लेखनीय रहेको थियो । 

ढडुवा युवा क्लब परिवार, रणकाली सामुदायिक वन उपभोक्ता समूह र शुरेश्वर स्वर्गद्वारी मन्दिर व्यवस्थापन समितिको सहकार्यमा आर्यघाट क्षेत्रदेखि शुरेश्वर मन्दिर परिसरसम्म फैलिएको क्षेत्रमा झाडी हटाउने, फोहोर संकलन गर्ने तथा सरसफाइ अभियान सञ्चालन गरिएको अभियानकर्मी अभिषेक खतिवडाले बताए।

यसै क्रममा आर्यघाटमा अवस्थित स्नानगृहका बिग्रिएका धाराको मर्मत तथा नयाँ धारा जडान कार्य पनि सम्पन्न भयो। खरेल सप्लायर्सका सञ्चालक तथा भद्रपुर निवासी राजेन्द्र खरेलले समुदायका लागि ४ थान धारा प्रदान गर्दै सहयोग पुर्‍याएका थिए।

अभियानमा सहभागी सरोकारवालाहरूले आर्यघाटलाई दीगो, स्वच्छ र व्यवस्थित स्थलका रूपमा विकास गर्न निरन्तर सामुदायिक सहभागिता अत्यावश्यक रहेकोमा जोड दिएका छन्। उनका अनुसार यस्ता नियमित अभियानहरूले स्थानीय वातावरण सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउँछन्।