झापा । 

पूर्वी नाका काँकरभिट्टाको सुरक्षा अवस्था, राजस्व चुहावट, तस्करी नियन्त्रण र खुला सीमाबाट बढ्दै गएको जोखिमबारे उद्योगी तथा व्यवसायीहरुले गम्भीर चिन्ता व्यक्त गरेका छन् । काँकरभिट्टा क्षेत्रको अवस्थाबारे प्रत्यक्ष अवलोकन गर्न आएका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिग्वीजय सुवेदीले आइतबार उद्योगीहरुसँगको बैठकमा सीमा व्यवस्थापनका चुनौती, समस्या तथा सुधारका उपायमा विस्तृत छलफल गरेका हुन् ।

मेची उद्योग वाणिज्य संघको सभाहलमा आयोजित छलफल कार्यक्रममा मेचीनगरका पूर्व प्रमुख तथा उद्योगी बिमल आचार्यले भारतीय पक्षले नेपालीहरुप्रति अनावश्यक कडाइ र शंका गर्ने प्रवृत्ति दोहोरिने गरेको बताए ।  

उद्योगी केशवराज पाण्डेले मूल्य समायोजन नहुँदा खुला सीमाका कारण नेपाल–भारतका सिमावर्ती बजारहरु लगातार प्रभावित भएको बताए । उनले बंगलादेशी तथा रोहिंगा समूहको प्रवेश र गतिविधि बढ्दै गएको र सशस्त्र प्रहरीको भूमिकाले जनभावना अनुसार प्रभावकारी ढंगले काम गर्न नसकेको टिप्पणी गरे । उनले खुला सीमाका कारण लागूऔषध नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताए । नेपाली कांग्रेस झापाका उपसभापतिसमेत रहेका नेता पाण्डेले भारतीय सीमाक्षेत्रका धेरै युवाहरु लागूऔषधको कुलतमा फस्दै गएको र स्थिति झन् गम्भीर बन्दै गएकोमा चिन्ता व्यक्त गरे ।

छलफलका क्रममा एसएसपी सुवेदीले राजस्व चुहावट नियन्त्रण र तस्करी रोक्न सशस्त्र प्रहरी हरदम खटिएको दाबी गरे । प्रहरी संगठनभित्र बदमासी वा अनुशासनहीनता देखिए कडा कारबाहीको चेतावनी दिँदै उनले नाकामा देखिएका समस्या समाधानका लागि उद्योगी, व्यवसायी र सुरक्षा निकायबीच सहकार्य आवश्यक रहेको बताए ।

कार्यक्रममा काँकरभिट्टाका सशस्त्र प्रहरी प्रमुख रामचन्द्र थापाले राजश्व चुहावट रोक्न सशस्त्र प्रहरी लागि परिरहेको बताए । उनले जोरसिमल ढाट नभएर चेकजाँच मात्र गर्ने ठाउँ भएको भनेर बुझिदिन आग्रह गरे । ‘हामीले कसैलाई दुःख दिने गरी चेक गरेका छैनौँ,’ उनले भने, ‘आवश्यक शंका लागेको खण्डमा चेकजाँच गर्ने गरिएको छ । सामान्यतः सर्वसाधारणले भारतबाट लिएर आउने सामानहरुलाई व्यावहारिकता हेरेर छाड्ने गरिएको छ ।’

मेची उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष किशोर क्षेत्रीको अध्यक्षतामा भएको छलफल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं संघका पूर्व अध्यक्ष नरेन्द्रकुमार खड्का, संघका संस्थापक अध्यक्ष पन्नालाल जैन, मेची उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विजय डालमिया, उद्योग उपाध्यक्ष भूमि पौडेल, उद्योगी श्याम न्यौपाने, संघका कार्यकारी प्रमुख गोपाल बस्नेत लगायतले नाकामा बढ्दो चुनौती, अव्यवस्था र सुधार सम्भावनाबारे आफ्ना सुझाव राखेका थिए । कार्यक्रमको सञ्चालन महासचिव दिनेश शाक्यले गरेका थिए ।

छलफलका क्रममा राजस्व चुहावट नियन्त्रण, तस्करी रोकथाम, सीमा नीतिको प्रभावकारी कार्यान्वयन, जनविश्वास पुनः स्थापना र दुवै देशबीचको समन्वय, पूर्वी नाकाको सुरक्षा र व्यापारिक वातावरण सुधारका मुख्य एजेण्डाका रुपमा उठाइएको छ ।