हल्दीबारी ।
झापाको हल्दीबारी गाउँपालिकाद्धारा काठेपुल मुक्त गर्ने उदेश्यले शुरु गरिएको पक्की पुल निर्माण अन्तरगत तेस्रो पक्की पुल उद्घाटन गरिएको छ । हल्दीवारी गाउँपालिका वडा नम्बर २ र ३ लाई जोड्ने माथिल्लो भुसुडी खोलामा पक्की पुल निर्माणपछि आज (बिहीवार) उद्घाटन गरिएको हो ।
पालिकाको ४ करोड ६७ लाख ९४ हजार ८७८ रुपैयाँ ४४ पैसामा सम्झौता भएको तीन वटा पुल मध्ये आज माथिल्लो भुसुडी खोलाको पुल उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली र प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) ले संयुक्त रुपमा पुलको उद्घाटन गरेका छन् । लक्ष्मी मावि पूर्वपट्टी रहेको भुसुडी खोलामा निर्माण गरिएको पक्की पुल आज एक समारोहका बीच उद्घाटन गरिएको हो ।

तीन वटा पुल मध्ये यसअघि भुतेनी खोला र तल्लो भुसुडी खोलाको पुल उद्घाटन गरिएको थियो । गाउँपालिकाको एक करोड ३० लाख लगानीमा निर्माण गरिएको २६.८ मिटर लम्बाइ र ७.५ मिटर चौडाई रहेको माथिल्ले भुसुडी खोलाको पुल निर्माण सम्पन्नसँगै उदुघाटन गरिएको छ । उक्त पुल निर्माणसँगै हल्दीवारी २ र ३ का ५ सय घरपरिवार लाभान्वित भएका छन् ।
हल्दीवारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनको अध्यक्षतामा भएको पुल उद्घाटन कार्यक्रममा हल्दीवारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत गरेका थिए । कार्यक्रममा हल्दीवारी–३ का वडाध्यक्ष बिष्णुप्रसाद ओली, नेकपा एमाले हल्दीवारी गाउँपालिकाका अध्यक्ष त्रिलोचन सापकोटा, नेपाली कांग्रेस हल्दीवारीका सभापति गंगाप्रसाद प्रसाईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
पुल उद्घाटन कार्यक्रममा हल्दीवारी–४ का वडाध्यक्ष सन्तकुमार थापा, हल्दीवारी–२ का वडाध्यक्ष सुकलाल राजवंशी, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, सामाजिक अगुवाहरू, स्थानीय बासिन्दाहरुलगायतको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण हल्दीवारी गाउँपालिकाका योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए ।


















