झापा । 

वैदेशिक रोजगार विभागमा छिटो श्रम स्वीकृति दिलाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ । उनीहरूले वैदेशिक रोजगारमा जाने कामदारहरूलाई विभिन्न प्रलोभन र घेराबन्दीमा पारेर बार्गेनिङ गरेर बिचौलियाको काम गरेको प्रहरीले जनाएको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले उनीहरूले श्रम स्वीकृतिका लागि विभागमा जानेहरूलाई हैरानी दिँदै आएको गुनासो आएपछि उनीहरूलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।

उनीहरूले श्रम स्वीकृति मात्रै नभएर ठगीमा परेकाहरूलाई ठगीमा संलग्नलाई पक्राउ पुर्जी जारी गरिदिने र पक्राउ गर्न समेत सहयोग गरिदिने बताएर सेवाग्राहीलाई दुःख दिएको गुनासो आएको प्रहरीले जनाएको छ । विभागले ‘क्यास लेस, फेस लेस’का आधारमा वैदेशिक रोजगार प्रशासन सञ्चालन गरिरहेको जनाएको छ ।