झापा । 

 वैदेशिक रोजगारका नाममा म्यानमारको म्यावाडी क्षेत्रम अवैध रूपमा सञ्चालनमा रहेका अनलाइन स्क्यामिङ केन्द्र पुर्‍याइएका ४७ नेपाली कामदारको उद्धार गरिएको छ । थाइल्यान्ड र म्यानमार सरकारसँग समन्वय गरी बैंककस्थित नेपाली दूतावासले उनीहरूलाई बुधबार नेपाल फर्काएको हो ।

नेपाली दूतावासका अनुसार बन्धक बनाइ टेलिकम ठगी तथा अनलाइन जुवा खेलाउने काममा  लगाइएका उनीहरूलाई विभिन्न प्रलोभनमा पारी विभिन्न माध्यमबाट त्यहाँ पुर्‍याइएको थियो । उनीहरूलाई म्यानमारमा अवैध रूपमा सञ्चालन भएका अनलाइन स्क्यामिङ केन्द्रहरूमा विभिन्न अनलाइन डेटिङ, अनलाइन क्यासिनो, गेमिङ तथा फिसिङ, क्रिप्टोलगायतका काममा लगाइएको थियो । नेपाली दूतावासले थाइल्यान्डका सम्बन्धित निकायहरूको समन्वय र सहयोगमा उद्धार गरी उनीहरूलाई बुधबारको नेपाल एयरलाइन्सको उडान नं. ४०२ मार्फत नेपाल फर्काएको छ ।

उद्धार गरिएका व्यक्तिहरूमा २६ जिल्लाका ४५ जना पुरुष तथा २ जना महिला छन् । नेपाली दूतावासले चितवन, दैलेख, कास्की, काठमाडौं, काभ्रे, पाल्पा, रामेछाप, रौतहट, सल्यान, सर्लाही, सिन्धुली, ताप्लेजुङ, तेह्रथुम जिल्लाका एक–एक जना रहेको जनाएको छ ।त्यसैगरी दाङ, महोत्तरी, मोरङ, नवलपरासी, नुवाकोट, स्याङ्जा र तनहुँ जिल्लाका दुई–दुई जना, धादिङ, गोरखा, रुपन्देही, सिन्धुपाल्चोक र उदयपुर जिल्लाका तीन–तीन जना र झापा जिल्लाका ५ जना रहेको छन् ।

१७ वर्षदेखि ४१ वर्ष उमेर समूहका उनीहरूको शैक्षिक योग्यता प्राय प्लस टु पास रहेको छ । कतिपय सूचना प्रविधिसम्बन्धी अध्ययन गरेकासमेत रहेको नेपाली दूतावासले जनाएको छ । उनीहरूलाई स्क्यामिङ केन्द्रहरूमा दुई देखि १८ महिनासम्म जबरजस्ती काममा लगाइएको देखिएको पनि नेपाली दूतावासले जनाएको छ ।

उद्धार गरिएका व्यक्तिहरूले आफूहरू विभिन्न व्यक्ति, साथीभाइ तथा अनलाइन साथी, पबजीलगायतका अनलाइन गेम खेल्ने साथी, सामाजिक सञ्जालको विज्ञापनलगायतको सम्पर्कबाट त्यहाँ पुगेको बताएका छन् । कोही भारतमा अध्ययन गर्दाको साथीमार्फत, कोही दुबईमा अध्ययन गर्दा तथा काम गर्दा चिनजान भएको साथीमार्फत समेत त्यहाँ पुगेका छन् ।

ह्वाट्सएप, भाइबर, मेसेन्जर, टिकटक, टेलिग्रामलगायतका सामाजिक सञ्जालबाट काठमाडौंमा घण्टाको राम्रो रकम कमाइन्छ भनी रोजगारीको प्रस्ताव आउने, त्यसमा रेस्पोन्स गरेपछि थप सम्पर्क हुँदै जाने र केही समयपछि भ्रमणका लागि आकर्षित मानिने मुलुकमा अफिस, कल सेन्टर, कम्प्युटर अपरेटर, रिसिप्सनिस्टलगायतको काममा एक लाखभन्दा धेरै तलब हुने भनेर प्रलोभनमा पार्ने गरेको देखिएको पनि नेपाली दूतावासले जनाएको छ ।