हल्दीवारी ।
झापाको हल्दीवारी गाउँपालिका वडा नम्बर ३ को कार्यालयले वडाका कृषकलाई ५० प्रतिशत लागत साझेदारीमा कृषि उपकरण वितरण गरेको छ ।
दुई लाख ४ हजार ३०० वडा कार्यालय र दुई लाख ४ हजार ३०० रुपैयाँ कृषकको लागत साझेदारीमा जम्मा ४ लाख ८ हजार ६०० रुपैयाँ बराबरको कृषि उपकरण कृषकलाई वितरण गरिएको वडाध्यक्ष बिष्णुप्रसाद ओलीले जानकारी दिए । वडाध्यक्ष ओलीका अनुसार वडाका ११३ कृषकलाई कृषि उपकरण वितरण गरिएको हो ।
हल्दीवारी गाउँपालिका वडा नम्बर ३ को कार्यालयको २०८२/०८३ को स्वीकृत कार्यक्रम कृषि सशक्तीकरण मार्फत पहिलो चरणमा कृषि उपकरण वितरण गरिएको वडा सचिव राजन खतिवडाले जानकारी दिए ।
वडा कार्यालयमा बुधवार र आज अर्थात बिहीवार दुई दिनमा व्हील व्यारो (ठेला गाडा) ४३ थान, स्प्रे ट्याङ्की ३१ थान र मकै रोप्ने मेशिन ४१ थान वितरण गरिएको वडा सचिव खतिवडाले बताए । निवेदन दिनुहरु सवैले उक्त कृषि उपकरण प्राप्त गरेको बताइएको छ ।
वडाध्यक्ष बिष्णुप्रसाद ओली, वडा सदस्यहरु कर्णबहादुर भण्डारी, अजितकुमार विष्ट, विषणे तिम्सिनालगायतले उक्त कृषि उपकरण हिजो र आज कृषकलाई वितरण गरेका हुन् ।


















