झापा । 

वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा अघिल्लो वर्षको तुलनामा करिब ३२ हजारले कमी आएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको चार महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत नयाँ अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या घटेको हो । १ लाख ४५ हजार ९ सय ७३ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख २७ हजार ८ सय ३७ रहेको छ । 

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नयाँ श्रम स्वीकृति लिनेको संख्या १ लाख ४७ हजार ४ सय ७८ र पुनः श्रम स्वीकृति लिनेको संख्या ९४ लाख १ सय ५ रहेको थियो । यो तथ्यांकले संस्थागत रूपमा श्रम स्वीकृति लिनेको संख्या करिब २ हजार र पुनः श्रम स्वीकृति लिनेको संख्यामा करिब ३२ हजारले कमी देखिएको छ ।

वैदेशिक रोजगारमा जानेको संख्यामा कमी आए पनि चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा रेमिट्यान्स आप्रवाह ३१ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । उक्त वृद्धिपछि चार महिनाको अवधिमा करिब सात खर्ब रेमिट्यान्स भित्रिएको बैंकले जनाएको छ ।

गत कात्तिक महिनासम्म विप्रेषण आप्रवाह ३१ दशमलव ४ प्रतिशतले वृद्धि भई ६ खर्ब ८७ अर्ब १३ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत कात्तिक महिनामा मात्रै एक खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँ बराबर विप्रेषण भित्रिएको छ ।  रेमिट्यान्स वृद्धि हुनुमा मलेसियामा नेपाली कामदारको तलबमा भएको वृद्धि प्रमुख कारण मानिएको छ ।