सुरुङ्गा ।
झापाको कनकाई नगरपालिकाले इलाका प्रहरी कार्यालय सुरुङ्गालाई सवारी साधन दिएको छ । नगरपालिकाले आज (आइतवार) नगरपालिकामा एक संक्षिप्त कार्यक्रमका बिच सवारी साधन हस्तान्तरण गरेको हो । गत भदौं २४ गते भएको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालयमा भएको तोडफोड र आगजनीमा प्रहरीको सवारी साधन जलेर नष्ट भएको थियो ।
सवारी साधन नहुँदा प्रहरीलाई दैनिक कार्य सम्पादनमा समस्या परेको भन्दै नगरले आज उपमेयर आशा शर्मा शिवाकोटीले प्रयोग गर्दै आएको मे.१ झ १२२ नम्बरको गाडी प्रहरीले कार्य सम्पादनमा सहजताका लागि दिएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए । उनले नगरपालिकाको यस बर्षको आठौं कार्यपालिका वैठकको निर्णय अनुसार सवारी साधान दिएको बताए ।
सो गाडी प्रहरीको कार्यसम्पादनमा सहजताको लागि दिएको बताउँदै नगर प्रमुख पोखरेलले यस अघि पनि प्रहरीलाई सवारी साधन दिएको र आवश्यक इन्धन उपलब्ध गराउँदै आएपनि जेनजी आन्दोलनका क्रममा सवारी जलेर नष्ट भएपछि पुनः यो सवारी दिएको बताए । नगर प्रमुख पोखरेलले नगरका भौतिक संरचना र सवारी साधन सवैको सम्पत्ती भएकाले त्यसलाई संरक्षण गर्नसमेत सवैमा आग्रह गरेका छन् ।
इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख सहि सुवास ढुङ्गानाले आफुले कार्य सम्पादन गरिरहेको बताउँदै प्रहरीको समस्या बुझेर नगरले सवारी साधन उपलब्ध गराएको भन्दै नगरपालिकालाई धन्यवाद दिएका छन् ।
सवारीको चावी नगर प्रमुख पोखरेलले इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख सहि सुवास ढुङ्गानालाई हस्तान्तरण गरेका थिए । सवारी साधन हस्तान्तरण कार्यक्रममा उप–प्रमुख आशा शर्मा शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने, वडाध्यक्षहरु, कार्यपालिका सदस्यसहित जनप्रतिनिधि, कर्मचारीलगायतको सहभागीता रहेको थियो ।


















