झापा ।
सरोकार केन्द्रले वैदेशिक रोजगार ठगी र मानव तस्करी नियन्त्रणका लागि नेपाल प्रहरीका महानिरीक्षकलाई आग्रह गरेको छ । मंगलबार महानिरीक्षक दानबहादुर कार्कीलाई सुझाव पत्र बुझाउँदै सरोकार केन्द्रले मुलुकमा मानव तस्करी बढ्दै गएका कारण वैदेशिक रोजगारीको क्षेत्रमा धेरै युवायुवती पीडित भएको, शैक्षिक कन्सल्टेन्सीले परामर्श मात्र दिनु पर्नेमा वैदेशिक रोजगारीको कामसमेत गरेको र केही म्यानपावर कम्पनीले फ्रि भिसा फ्रि टिकट भने पनि अस्वभाविक रूपमा रकम उठाएर ठगी गरेको भन्दै बेरोजगार युवायुवतीलाई ठगी गर्नेविरुद्ध नेपाल प्रहरीले सशक्त भूमिका खेल्नुपर्ने माग गरेको छ ।
अधिकांश कन्सल्टेन्सी दर्ता नै नभई परामर्शदाताको आवरणमा वैदेशिक रोजगार व्यवसाय नै सञ्चालन गर्दा पनि सबन्धित निकायले चासो नदिँदा पीडित झनै पीडित हुनु परेको र वैदेशिक रोजगार विभागको व्यक्तिगत ठगी नियन्त्रण गर्ने क्षमता नहुँदा नेपाल प्रहरीले त्यस्ता मुद्दाको अनुसन्धान गर्नुपर्ने माग पनि केन्द्रले गरेको छ । सुझाव पत्र बुझाउन सरोकार केन्द्रका अध्यक्ष अधिवक्ता गोविन्द पन्थीसहितको टोली प्रहरी प्रधान कार्यालय गएको थियो । अध्यक्ष पन्थीले वैदेशिक रोजगार क्षेत्र सुधारका लागि सुझाव पत्र बुझाइएको जानकारी दिए ।
सुझाव पत्र बुझ्दै प्रहरी महानिरीक्षक कार्कीले वैदेशिक रोजगारी र मानव तस्करी नियन्त्रणमा सरोकार केन्द्रमार्फत जानकारी भएका विषयलाई आफूले कार्यान्वयनमा लगेर ठगी तथा अन्य विकृति विसंगति हटाउन पहल गर्ने आश्वासन दिएको अध्यक्ष पन्थीले बताए । महानिरीक्षक कार्कीले पीडकलाई कानुनी दायरामा ल्याउने र पीडितलाई न्याय दिन नेपाल प्रहरीका सम्पूर्ण युनिटलाई निर्देशन दिने तथा गृह मन्त्रालयसँग समेत समन्वय गरेर काम गर्ने बताएको पनि अध्यक्ष पन्थीले जानकारी दिए ।
सरोकार केन्द्र वैदेशिक रोजगारी ठगी, मानव बेचबिखन तथा ओसारपसार, मानव तस्करी, सामाजिक सञ्जालको दुरुपयोग, लागूऔषध दुव्र्यसनी न्यूनीकरणमा भूमिका खेल्ने उद्देश्यका साथ स्थापना गरिएको गैरनाफामूलक संस्था हो । उक्त संस्थाले वैदेशिक रोजगारमा अलपत्र परेका ४९ जनालाई उद्धार गरेको र २५ भन्दा बढी सामुदायिक विद्यालयमा जनचेतनामूलक कार्यक्रम गरेको बताएको छ । त्यस्तै रकमको अभावमा न्यायको पहुँचमा बाहिर रहेका ५५ जनालाई निःशुल्क कानुनी सेवा दिइएको पनि केन्द्रले जनाएको छ ।


















