झापा ।
वैदेशिक रोजगार विभागमा छिटो श्रम स्वीकृति दिलाइदिने भन्दै ठगी हुने प्रवृत्ति नरोकिएपछि बिचौलियालाई रोक्न प्रहरी नै परिचालन गरिएको छ । छिटो श्रम स्वीकृति दिलाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले अघिल्लो साता १३ जनालाई पक्राउ गरेको थियो ।
तर, त्यसपछि पनि सोल्टीमोडदेखि सिर्जना स्टोरसम्म कार्यालय खोलेका उनीहरूले वैदेशिक रोजगारमा जाने कामदारहरूलाई विभिन्न प्रलोभन र घेराबन्दीमा पारेर बार्गेनिङ गरी बिचौलियाको काम गरेका कारण माइकिङ नै गरेर धपाउनु परेको प्रहरीको भनाइ छ ।
विभागले ‘क्यास लेस, फेस लेस’का आधारमा वैदेशिक रोजगार प्रशासन सञ्चालन गरिरहेको जनाएको छ । तर पुनः श्रम स्वीकृतिका लागि अनलाइनमार्फत लिनुपर्ने कुपनमा चलखेल गर्ने बिचौलियाहरूले श्रम स्वीकृतिका लागि विभागमा जानेहरूलाई हैरानी दिँदै आएको गुनासो छ ।
बिचौलियाहरूले श्रम स्वीकृति मात्रै नभएर ठगीमा परेकाहरूलाई ठगीमा संलग्नलाई पक्राउ पुर्जी जारी गराइदिने र पक्राउ गर्नसमेत सहयोग गरिदिने बताएर दुःख दिएको गुनासो आउने गरेको विभाग स्रोतले बताएको छ ।
ठगीको आरोपमा दुई जना पक्राउ
यसैबीच वैदेशिक रोजगारीका लागि क्रोएसिया र न्युजिल्यान्ड पठाउने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । मोरङको उर्लाबारी नगरपालिकाका शैलेन्द्र शाक्य र रामेछापको सुनापति गाउँपालिकका जितबहादुर जर्घा मगरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेका हो ।
मगरले न्युजिल्यान्ड पठाउने भन्दै एक जनाबाट ७ लाख १० हजार र शाक्यले युरोपेली मुलुक क्रोएसिया पठाउने भन्दै एक जनाबाट ५ लाख रुपैयाँ ठगी गरेको जाहेरी परेको प्रहरीले जनाएको छ ।


















