बिर्तामोड । 

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणलाई औपचारिकतामा सीमित पार्दै बिर्तामोडमा खुलेआम गैरकानुनी अभ्यास भइरहेको तथ्य खुलेको छ । जिल्ला प्रशासन कार्यालय झापाले आज गरेको अनुगमनले चिकित्सकको उपस्थिति विना, अर्कै डाक्टरको हस्ताक्षर प्रयोग गरी वर्षौँदेखि स्वास्थ्य परीक्षण रिपोर्ट वितरण हुँदै आएको पत्ता लगाएपछि गोदावरी डायग्नोष्टिक सेन्टर सिल गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंको नेतृत्वमा खटिएको अनुगमन टोलीले बिर्तामोडस्थित गोदावरी डायग्नोष्टिक सेन्टरमा हुने गरेको अबैध धन्दाको उजुरी परेको र गरिएको अनुगमनका क्रममा गम्भीर लापरबाही भेटिएको थियो । निरीक्षणका क्रममा सेन्टरमा कुनै पनि चिकित्सक उपस्थित नभएको अवस्थामा ‘डा। डी।के। झा’ को नाम र हस्ताक्षर प्रयोग गरी वैदेशिक रोजगार प्रयोजनका लागि स्वास्थ्य परीक्षण रिपोर्ट वितरण भइरहेको पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय झापाले तत्कालै उक्त सेन्टर सिल गरेको हो ।

अनुगमनमा संलग्न अधिकारीहरूका अनुसार नेत्रप्रसाद उप्रेती र जीवन लिम्बूले सञ्चालन गर्दै आएको उक्त डायग्नोष्टिक सेन्टरले कम्तीमा पाँच वर्षदेखि यही शैलीमा रिपोर्ट दिँदै आएको प्रारम्भिक तथ्य फेला परेको छ । अझ गम्भीर कुरा, स्वास्थ्य परीक्षणका लागि अनिवार्य अनुमति नलिई ल्याब प्रयोगशाला सञ्चालन गरिएको पनि अनुगमनका क्रममा खुलेको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गराउनुपर्ने कानुनी व्यवस्था छ । पूर्ण रूपमा स्वस्थ प्रमाणित भएकालाई मात्र सम्बन्धित मुलुकले भिसा दिने र श्रम स्वीकृति प्रदान गर्ने प्रावधान छ । तर, यस्ता गैरकानुनी मेडिकल अभ्यासले श्रमिकको स्वास्थ्य जोखिममा पार्नुका साथै वैदेशिक रोजगार प्रणालीमै प्रश्न खडा गरिरहेको सरोकारवालाहरू बताउँछन् ।

अनुगमन टोलीमा स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय झापाका नायब सुब्बा यदुनन्दन दाहाल तथा इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी सहायक निरीक्षक देवकुमार मेचे लगायत सहभागी थिए । टोलीले संकलन गरेका कागजात र विवरणका आधारमा थप अनुसन्धान अघि बढाइने प्रशासनले जनाएको छ ।

नेपालबाट प्रत्येक वर्ष पाँच लाखभन्दा बढी श्रमिक रोजगारीका लागि विभिन्न देश जाने गर्छन् । उनीहरूले स्वास्थ्य परीक्षण गराउँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अनुमति प्राप्त र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सूचीकृत संस्थाबाट मात्रै परीक्षण गराउनुपर्ने स्पष्ट व्यवस्था छ । वैदेशिक रोजगार विभागमा सूचीकृत संस्थाबाट जारी गरिएको रिपोर्टका आधारमा मात्र श्रम स्वीकृति दिइन्छ ।

तर, व्यवहारमा भने व्यवसायीबीचको मिलेमतो, बिचौलियाको चलखेल र सिण्डिकेटका कारण श्रमिकले गुणस्तरीय स्वास्थ्य सेवा नपाउने अवस्था सिर्जना हुँदै आएको छ । सरकारले परीक्षणका लागि निश्चित शुल्क र मापदण्ड तोके पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । परिणामस्वरूप, नियम पालना गरेर सञ्चालनमा रहेका स्वास्थ्य संस्थासमेत असमान प्रतिस्पर्धामा परिरहेका छन् ।

प्रशासनले वैदेशिक रोजगारसँग जोडिएका स्वास्थ्य परीक्षण केन्द्रमाथि कडाइका साथ अनुगमन र कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ । झापामा यस्ता डायग्नोष्टिक सेन्टरले सेवा दिने नाममा सर्वसाधारणबाट मनपरी शुल्क असुली गरिरहेको गुनासो लामो समयदेखि उठ्दै आएको छ । गोदावरी डायग्नोष्टिक सेन्टरमाथिको कारबाहीलाई प्रशासनले त्यसैको सुरुआतका रूपमा लिएको जनाएको छ । 

स्रोतका अनुसार झापामा सञ्चालित अन्य ६ वटा यस्ता डायग्नोष्टिक सेन्टर सेन्टरले मेनपावर व्यवसायी समेतको मिलेमत्तोमा डा. विनानै मेडिकल रिपोर्ट दिँदै आएका छन् । डायग्नोष्टिक सेन्टरले मेनपावर व्यवसायीलाई मानिस पठाइदिए वापत कमिसन दिने गरेको बताइएको छ ।