झापा ।
गुरुङ समुदायको तमु ल्होसार पर्व मनाइँदैछ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई तमु ल्होसार भनिन्छ । गुरुङ समुदायले यस पर्वलाई आफ्नो नयाँ वर्षका रूपमा विशेष महत्त्वका साथ मनाउने परम्परा छ ।
तमु ल्होसार सूर्यको किरण र प्रकृतिसँग जोडिएको पर्व हो । सूर्यको ताप छिटो पुग्ने विश्वासका आधारमा पुस महिनामा यो पर्व मनाइने गरिएको छ । त्यसपछि क्रमशः तामाङ र शेर्पा समुदायले बसोबास गर्ने क्षेत्रमा सूर्यको ताप ढिलो आउने भएकाले माघ र फागुनमा ल्होसार मनाइने विश्वास रहेको जानकारहरू बताउँछन् ।
पुस १५ गतेको रात वर्षकै सबैभन्दा लामो हुने र त्यसपछि दिन लामो तथा रात छोटिँदै जाने भएकाले पनि तमु ल्होसारको विशेष महत्त्व रहेको उल्लेख गरिन्छ । तमु ल्होसारको अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ, जसका कारण स्कुल, कलेज, बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय र सार्वजनिक संस्थानहरू बन्द रहेका छन् ।


















