धुलाबारी ।
नेपाल तामाङ घेदुङ मेचीनगरको आयोजनामा भोलि (माघ ३ गते) धुलाबारीमा बृहद साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । मन्जुश्री सम्वत २८६२ महान राष्ट्रिय पर्व ताल्हो ९घोडा वर्ग सोनाम ल्होछार० को अवसरमा कार्यक्रम आयोजना गरिएको हो ।
‘नेपाल राष्ट्रिय शान, हाम्रो भाषा संस्कृति हाम्रो पहिचान’ भन्ने नाराका साथ तामाङ तथा अन्य समुदायका मानिसहरुको उल्लेख्य उपस्थितिमा कार्यक्रम आयोजना गरिएको नेपाल तामाङ घेदुङ मेचीनगर समिति अध्यक्ष भक्तबहादुर तामाङले जानकारी दिए ।
यो वर्ष सांस्कृतिक कार्यक्रम समितिको आफ्नै जमिनमा गर्न लागिएको छ । समितिको जमिन धुलाबारीस्थित त्रिफला पुस्तकालय पूर्वपट्टि पर्दछ । समितिले खरिद गरेको ६ कठ्ठा जमिनमा पण्डाल र तोरण लगाएर कार्यक्रम स्थल सजाइएको छ ।
समितिले उक्त जमिनमा तामाङ संग्राहालय भवन बनाउने तयारी समेत थालेको अध्यक्ष भक्तबहादुर तामाङले जानकारी दिए । उनका अनुसार मेचीनगरमा मात्रै ८ हजार तामाङ समुदायका मानिस रहेका छन् ।
करिब ५ हजार मानिसको उपस्थिति रहने उक्त कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य गोपाल तामाङ रहेका छन् । त्यस्तै कार्यक्रममा मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी, अर्जुनधार नगरप्रमुख बलदेव गोम्देन, राष्ट्रिय कलाकार आसमान लोप्चन लगायतको समेत आतिथ्यता रहने छ ।
चर्चित कलाकार लोप्चनको सांगीतिक कार्यक्रमसमेत रहेको छ । कार्यक्रममा जातीय कला संस्कृतिको प्रदर्शनी तथा विभिन्न परिकारको स्टलहरु रहने नेपाल तामाङ घेदुङ झापाका अध्यक्ष जगतबहादुर तामाङले बताए ।


















