झापा । 

झापाको दमक नगरपालिका–१ बरगाछीस्थित भित्री सडक खण्डमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दमकबाट रामचोकतर्फ जाँदै गरेको मे १ ख २८८४ नम्बरको टिपर र दुर्गा मन्दिरबाट पेल्टीमारी तर्फ जाँदै गरेको प्र.१–०१–०१८ प ८३०३ नम्बरको मोटरसाइकल आज (बुधवार) ३ः३० बजे एकआपसमा ठोक्किएका थिए । 

दुर्घटनामा मोटरसाइकलका चालक र पछाडी सवार इलाम चुलाचुली गाउँपालिका–४ का २२ बर्षीय प्रवेश राई र सोही स्थानका अन्दाजी १९ बर्षीय जनम राई घाईते भएका थिए । घाइते दुवै जनालाई उपचारको लागि दमक अस्पताल दमकमा पठाईएकोमा उपचारको क्रममा दुवै जनाको ३ः५० बजे मृत्यु भएको हो । 

टिपर चालक उदयपुरको त्रियुगा नगरपालिका–९ राटमाटेका ३२ बर्षीय हिबराज राय, टिपर र मोटरसाइकल नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा ल्याई राखिएको छ । दुवै लाश तत्काल सोही अस्पतालमा रहेको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।