भद्रपुर ।
जिल्ला प्रशासन कार्यालय झापाले आफ्नो धर्म, संस्कृति, परम्परा अनुसारको चाडपर्व, धार्मिक सांस्कृतिक अनुष्ठान गर्दा अन्य धर्मावलम्बीहरूका आस्थाका केन्द्र अगाडि गएर होहल्ला गर्ने, चर्को आवाजमा डीजे बजाउने, अविरलगायत विभिन्न सामाग्रीहरु फ्याँक्ने जस्ता उच्छृङ्खल र उक्साहटपूर्ण गतिविधिहरू नगर्न अपिल गरेको छ । प्रशासनले शुक्रवार एक बिज्ञप्ति जारी गर्दै सम्बद्ध सबै पक्षमा त्यस्ता गतिविधि नगर्न तीन सुत्रिय अपिल गरेको हो ।
साथै धार्मिक सांस्कृतिक पर्व मनाउने नाममा अन्य समुदायको आस्थामा चोट पु¥याउने, सामाजिक सद्भाव भड्काउने र सार्वजनिक शान्ति खलल पार्ने कार्य कानूनतः दण्डनीय रहेकाले देहायका बिषयहरुको अनिवार्य पालना गर्न सबैलाई सूचना जारी गर्दै सुचित गरेकोे छ ।
बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त झापा जिल्लामा सदियौँदेखि कायम रहँदै आएको आपसी सद्भाव, धार्मिक सहिष्णुता, सामाजिक सांस्कृतिक सह–अस्तित्व तथा ऐक्यबद्धतालाई अक्षुण्ण राख्नु सबैको साझा कर्तव्य भएको जनाएको छ ।
प्रशासनले जारी गरेको सूचनामा साझा पुँजीको रुपमा रहेको धार्मिक सांस्कृतिक विविधतालाई जीवन्त राख्दै आपसी विश्वास, भाइचारा, सहअस्तित्व तथा सहभावमा आधारित सामाजिक सद्भावको बन्धनलाई थप कसिलो र मजबुत बनाउन मर्यादित एवं संयमित व्यवहारको आवश्यकता पर्ने जनाएको छ ।
चाडपर्वको अभिन्न अङ्गको रूपमा रहेको मूर्ति पूजन तथा विसर्जन, शोभायात्रा तथा विभिन्न धार्मिक सांस्कृतिक उत्सव, ¥यालीहरूको अवसरमा असामाजिक तत्वहरूबाट हुनसक्ने सम्भावित घुसपेठ, असामाजिक हर्कतहरूबाट सबैलाई सजग र सतर्क रहन पनि प्रशासनले आग्रह गरेको छ ।
यस्ता छन् तीन वुँदे अपिल:
१. मूर्ति विसर्जन वा शोभायात्राको क्रममा तोकिएको रुट र समयको पूर्ण पालना गर्नुपर्नेछ । अन्य धर्मावलम्बीका धार्मिक स्थल (मन्दिर, मस्जिद, मदरसा, मन्दिर, चर्च, गुम्बा आदि) अगाडि वा यस्ता क्षेत्रमा नियोजित रूपमा जुलुस रोक्ने, होहल्ला तथा उत्तेजक प्रदर्शन गर्ने, रङ लगायत अन्य विभिन्न सामाग्रीहरु फ्याँक्ने जस्ता सद्भाव बिथोल्ने गतिविधि नगर्ने नगराउने ।
२. चाडपर्व, ¥याली र मूर्ति विसर्जनमा चर्को आवाजको डीजे बजाउन पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । यस सूचनाको अवज्ञा गरी डीजे बजाएको पाइएमा आयोजक वा सहभागीलाई मात्र नभई डीजे उपलब्ध गराउने (भाडामा दिने) व्यक्ति, साउन्ड सिस्टम व्यवसायी र सो ढुवानी गर्ने सवारी साधन धनीलाई समेत प्रचलित कानून बमोजिम कारवाही गरिनेछ ।
३. जुलुस वा विसर्जन कार्यमा मादक पदार्थ सेवन गरी सहभागी नहुने, सामाजिक सञ्जालमार्फत भ्रामक एवं साम्प्रदायिक सन्देश नफैलाउने ।
जिल्लाको शान्ति सुव्यवस्था र सामाजिक सद्भाव कायम राख्ने कार्यमा उच्च सतर्कता र संवेदनशीलता अपनाई सहयोग गरिदिनुहुन सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, धार्मिक अगुवा, व्यवसायी, सञ्चारकर्मी एवं आम नागरिकहरूमा जिल्ला प्रशासन कार्यालय, झापा हार्दिक अपिल गर्दछ ।
प्रतिक्रिया 0