बिर्तामोड । 

प्रेस चौतारी नेपाल झापाले २८ औं स्थापना दिवसमा पूर्वअध्यक्षलाई अभिनन्दन र लेखनवृत्ति प्रदान गरेको छ । प्रेस चौतारी झापाका पूर्वअध्यक्ष गणेश पोखरेललाई स्थापना दिवसमा आयोजित कार्यक्रममा आज अभिनन्दन गरिएको हो । उनलाई नगद २५ हजार रुपैयाँ, सम्मानपत्रसहित अभिनन्दन गरिएको छ । झापा शाखाले एक कार्यकालमा एक जना पूर्वअध्यक्षलाई अभिनन्दन गर्दै आएको छ । पोखरेल झापाको तेस्रो अध्यक्ष हुन् ।

यस्तै, स्थापना दिवस एवम् वार्षिक साधारणसभामा संस्थापक अध्यक्ष नेत्र पाठकको स्मृतिमा स्थापित लेखनवृत्ति पुरस्कार पत्रकार सन्तोष शर्मालाई प्रदान गरिएको छ । चौतारी झापाले ६–६ महिनामा लेखनवृत्ति प्रदान गर्दै आएको छ । आर्थिक विटमा पत्रकार शर्माले लेखेको समाचार छनौट भएपछि उनलाई नगद ५ रुपैयाँ हजारसहित लेखनवृत्ति प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका निवर्तमान सभामुख देवराज घिमिरेले अभिनन्दन एवम् पुरस्कार प्रदान गरेका हुन् ।

२८ औं स्थापना दिवसमा झापा शाखाका अध्यक्ष प्रदीप परियारले एक वर्षमा गरेको कार्य प्रगति विवरण सार्वजनिक गरेका छन् । अध्यक्ष परियारले पत्रकारिता तालिम, अन्तरसंवाद, अग्रजलाई सुनौं कार्यक्रम, सम्पादकसँग चौतारी, पत्रकारितामा एआईको प्रयोग लगायत दुई दर्जन कार्यक्रम सम्पन्न गरेको विवरण सार्वजनिक गरेका छन् ।

संगठनका कोषाध्यक्ष सरोज भट्टराईले आर्थिक प्रतिवेदन र उपचार कोषको संयोजक भीमा शिवाकोटीले कोषको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि घिमिरे, अभिनन्दित पूर्वअध्यक्ष पोखरेल, प्रेस चौतारी केन्द्रीय सदस्य झापा इञ्चार्ज माधव विद्रोही, नेकपा एमाले झापाका उपाध्यक्ष शिव ढुङगेल, पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, प्रेस सेन्टर झापाका अध्यक्ष पुष्प खड्का, नारी सञ्चार गृह झापाको अध्यक्ष स्वस्तिका आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

शाखाका सचिव युवराज आचार्यले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष सुनिरा मैनाली र पत्रकार महासंघ झापाका उपाध्यक्ष एवम् प्रेस चौतारीका नेता सुब्रत न्यौपानेले धन्यवाद ज्ञापन गरेका थिए ।