झापा । 

झापाको भद्रपुर नगरपालिका–१० धनुषमोडमा सुई प्रहारबाट घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ ।विहीवार साँझ भद्रपुर–१० धनुषमोडका ६४ वर्षीय खेमराज ढकाललाई सिरहाको विष्णुपुर गाउँपालिका–१ का २६ वर्षीय दिनेशकुमार सिंहले ढकालकै घरमा सुईले घाँटीमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

घाइते ढकाललाई तत्काल उपचारका लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर लगिएको थियो । अस्पतालमा गरिएको परीक्षणपछि चिकित्सकले विहीवार राति नै ढकाललाई मृत घोषणा गरेका थिए । मृतकको ढकालको शव हाल सोही अस्पतालमा राखिएको छ ।

घटनाको जानकारी पाउना साथ जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोली घटना स्थलतर्फ गएको थियो ।

प्रहरीले सुई प्रहार गर्ने अभियुक्त दिनेश कुमार सिंहलाई सुईसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।