बिर्तामोड ।
पठन संस्कृति अभियानले आगामी निर्वाचन लक्षित ५ बुँदे किताब खोई अभियान सञ्चालन गर्ने भएको छ । फागन २१ मा सम्पन्न हुने निर्वाचनमा उमेद्वारहरुले प्रकट गर्ने वचनबद्धता तथा घोषणापत्रमा किताब सम्बन्धी एजेण्डा राख्न दवाव दिने उद्देश्यले यो अभियान संचालन गरिएको अभियानका संयोजक तीर्थ सिग्देलले जानकारी दिए ।
पठन संस्कृतिको विकास गर्नको लागि पढौँ अघि बढौँ भन्ने मुख्य उद्देश्य लिएर झापाका १०० भन्दा बढी संस्थाको सामुहिक अभियान अन्तर्गत पठन संस्कृति वर्ष २०२६ मनाउँदै गरेको छ । हरेक मानिसको व्यक्तित्व विकास गर्नको लागि पढ्न जरुरी छ । पुस्तक पढेर कुनै न कुनै नयाँ अनुभव हासिल गर्न सकिन्छ भन्ने कुरामा अभिप्रेरित गर्ने हेतुले अभियानको प्रारम्भ गरिएको हो ।
आगामी फागुन २१ मा सम्पन्न हुने आम निर्वाचनमा उमेद्वारहरुले उठाएका स्थानीय तथा राष्ट्रिय मुद्दाले जनमानसमा जागरुकता पैदा गराउँदै लगेको मात्र छैन, जनतामाझ आशाको संचार पनि गराएको छ । तसर्थ दल तथा स्वतन्त्र विचारले आफ्नो क्षेत्र र भूगोलको पहिचान अनि इतिहासप्रति के कति गौरव गर्न लायक विषयहरुको उठान गरिरहको छ भन्ने सवाल अहिले ज्वलन्त बनेर उदाएको छ ।
यसै सन्दर्भमा संचालन गरिएको यो अभियानले आफ्नो भूगोलको इतिहासप्रति गौरव गर्ने अनि यो माटोको मायाले देखाउने सद्भावले पनि जनमत बटुल्न र मतदाताको भावना जित्न मद्दत गर्नका साथै झापा जिल्लाको गौरव, गाथा अनि यस जिल्लाको राष्ट्रिय महत्व र ख्याति बढाउन सहयोग पुग्ने संयोजक सिग्देललको धारणा छ । त्यस्तै उमेद्वार बनेर आफ्नो क्षेत्रका मतदाताको घरदैलोमा पुग्दा व्यक्त गर्ने विचार र प्रतिवद्दतालाई बौद्धिक वर्गले पनि नियालिरेहको हँदा यस अभियान मार्फत् पठन संस्कृति निर्माण गर्न घोषणा पत्रमा यो विषयलाई कति महत्व दिइएको छ भन्ने अभियानको चासो रहेको अभियानका सह संयोजक केशव मैनालीले जनाए ।
यसक्रममा अभियानको तर्फबाट झापा जिल्लाबाट निर्वाचनमा उमेद्वार बनेका व्यक्तिहरुलाई भेट गरी यस असिभयानबारे जानकारी गराउने र आफ्नो एजेण्डामा यस विषयलाई अनिवार्य समेट्न आग्रह गरिने पठन अभियन्ता सन्तोष आचार्यले बताए।
यस्ता छन् अभियानद्धारा उमेद्वारहरुलाई दिइएको केही सुझावहरुः
१) आफ्नो घोषणापत्रमा कम्तीमा एक बडामा एक सार्वजनिक पुस्तकालय स्थापना गर्ने वा भएका पुस्तकालय संचालन गर्न बजेट बिनियोजन गरी मद्दत गर्ने ।
२) आफ्नो क्षेत्रमा रहेका सरकारी, गैर सरकारी, बैंक तथा वित्तीय संस्थामा अनिवार्यरुपमा मिनी लाइब्रेरी स्थापना गर्न पहल गर्ने ।
३) आफ्नो क्षेत्रमा रहेका नीजि तथा सरकारी बिद्यालयको शैक्षिक गुणस्तर उकास्न अनिवार्यरुपमा किताबका लािग बजेट छुट्याउने ।
४) आफ्नो क्षेत्रमा आयोजना गरिने सार्वजनिक कार्यक्रमहरुमा अतिथिहरुलाई मायाको चिनो दिँदा पुस्तक दिने चलन चलाउने ।
५) हरेक बडामा कम्तीमा एक स्थानलाई सार्वजनिक स्थल तय गरी त्यसै स्थानमा कार्यक्रम हलसहितको पुस्तकालय र सार्वजनिक पार्क बनाउने ।


















