झापा ।
वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने दुई जना पक्राउ परेका छन् । युरोपेली मुलुकमा रोजगारीमा पठाउने आश्वासन दिएर ठगेको उजुरीका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले कैलालीको टीकापुर नगरपालिका–१ घर भई हाल ललितपुर महानगरपालिका–११ बस्ने २३ वर्षीय युवराज कुँवर र काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ घर भई हाल काठमाडौं महानगरपालिका–८ बस्ने ४३ वर्षीया उपासना भण्डारीलाई पक्राउ गरेको हो ।
भण्डारीले क्रोएसिया पठाउने भन्दै १२ लाख तथा कुँवरले ग्रीस पठाउने भन्दै १९ लाख रुपैयाँ लिएर फरार भएको उजुरी परेको थियो । सोही उजुरीका आधारमा प्रहरीले दुवै जनालाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
काठमाडौं महानगरपालिका–३१ बाट पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।


















