भद्रपुर ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई व्यवस्थित बनाउने उद्देश्यका साथ झापामा मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गरिने भएको छ । झापाको भद्रपुरमा आज आयोजित निर्वाचन आचारसंहिता तथा मतदाता शिक्षा विषयमा सञ्चारकर्मीसँगको अन्तरक्रियामा जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने बताए ।
मतदान प्रक्रियालाई सहज, सरल बनाउन, बदर हुने प्रतिशत घटाउनका लागि निर्वाचन आयोगले यही फागुन ३ गतेदेखि १७ गतेसम्म देशव्यापी रुपमा सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । सोही अन्तर्गत झापाका १३१ वटा वडामा कार्यक्रम हुनेछ ।
प्रत्येक वडामा एक–एकजना मतदाता शिक्षा स्वयम्सेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने नेपालले जानकारी दिए । स्वयम्सेवकले मतदाताको घर, बस्तीमा पुगेर नमुना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउने कार्यक्रम तय भएको उनको भनाइ छ ।
मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने कार्यालयको विश्वास छ । आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका बारेमा जानकारी दिने लक्ष्यका साथ मतदाता शिक्षा कार्यक्रम अगाडि बढाउन लागिएको उनले कार्यक्रममा जानकारी दिए ।
कार्यक्रममा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित, मर्यादित र विश्वसनीय बनाउन आचारसंहिता लागु गरिएको बताए ।
अन्तरक्रियामा झापाका मुख्य निर्वाचन अधिकृत क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेल, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी लगायतले आआफ्नो धारणा व्यक्त गरेका थिए ।
पत्रकार महासंघ झापाका सचिव राजु पाठकले सञ्चालन गरेको अन्तरक्रिया कार्यक्रममा झापाका प्रहरी प्रमुख बसुन्धरा खड्का, नेपाली सेना अरिदमन गण चारआलीका प्रमुख सेनानी सरोज थापा, सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण हेडक्वाटर झापा प्रमुख अम्बिकाप्रसाद जोशी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय झापाका प्रमुख उमेश पाण्डे लगायतको आतिथ्यता रहेको थियो ।


















