झापा । 

देशिक रोजगारीको सिलसिलामा कतारमा रहेका झापाको बाहुनडाँगी घर भई विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरूको साझा संस्था बाहुनडाँगी प्रवासी समाज कतारको अध्यक्षमा रबिनराज काफ्ले सर्वसम्मत रूपमा चयन भएका छन्। दोहामा शुक्रबार सम्पन्न समाजको छैटौँ साधारण सभाले नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यकालका लागि सर्वसम्मत नयाँ कार्यसमिति गठन गरेको हो। सभाले 

अध्यक्षमा काफ्ले, प्रथम उपाध्यक्षमा भुपेन्द्र भारती, द्वितीय उपाध्यक्षमा मौसम घिसिङ, महासचिवमा सन्देश नेपाल, सचिवमा डम्बर कार्की र प्रबिन भण्डारी, महिला सचिवमा सारु दास, कोषाध्यक्षमा ललित राउत र सह–कोषाध्यक्षमा रोमन रिजाल सर्वसम्मत चयन भएका छन् । 

त्यस्तै सदस्यहरूमा कविराज अधिकारी, दिवश भुजेल, दीपक हुमागाई, आप्सरा पौडेल, संगम नेपाल, साहिल कार्की, रेघन थापा, विष्णु दाहाल, राकेश राउत, सान्ध्या भण्डारी, अजिता काफ्ले र पुजन कार्की चयन भएका छन्। नव–निर्वाचित पदाधिकारी तथा सदस्यहरूले संस्थाको विधानअनुसार प्रवासमा रहेका बाहुनडाँगीवासीहरूको हक–हित संरक्षण, आपसी एकता अभिवृद्धि तथा सामाजिक सेवाका कार्यलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्।

समाजका निवर्तमान अध्यक्ष कृष्णकुमार कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा झापाली समाज कतारका प्रमुख सल्लाहकार  केशवराज कार्की प्रमुख आतिथ्य रहेको थियो ।  कार्यक्रममा झापाली समाज कतारका अध्यक्ष चानिलाल राजवंशी, प्रमुख संरक्षक चुडामणि कार्की, संरक्षक भवानी प्रसाद कोइराला, राजन कार्की तथा कोच प्रवासी समाज कतारका अध्यक्ष कलेन्द्र राजवंशी लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

उक्त अवसरमा वक्ताहरूले प्रवासमा बस्दा पनि जन्मभूमिप्रतिको माया, सामाजिक उत्तरदायित्व र आपसी सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले यस्ता संस्थाहरूले प्रवासमा रहेका नेपालीहरूलाई एकत्रित गराई दुःख–सुखमा साथ दिने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे।

छैटौँ साधारण सभासँगै आयोजना गरिएको विविध सांस्कृतिक कार्यक्रमले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। स्थानीय कलाकारहरूद्वारा प्रस्तुत गीत–संगीत तथा नृत्यले सहभागीहरूलाई मनोरञ्जन प्रदान गरेको थियो। नेपाली मौलिक संस्कृति झल्किने प्रस्तुतिहरूले प्रवासमा रहेर पनि आफ्नो पहिचान जोगाइराख्न प्रेरणा दिएको सहभागीहरूले बताएका थिए।

कार्यक्रममा संस्थापक अध्यक्ष देवेन्द्र बास्कोटा झापाली समाज कतारका अध्यक्ष चानिलाल राजबशी  संरक्षक भवानी प्रसाद कोइराला, सल्लाहकार लंक बहादुर दर्नाल लगायतका अग्रज समाजसेवीहरूले मन्तव्य व्यक्त गर्दै संस्थाले विगतमा गरेका सामाजिक कार्यहरूको समीक्षा गरेका थिए। उनीहरूले आपतकालीन सहयोग, दुःखद घटनामा राहत संकलन, नेपालमा सामाजिक सहयोग तथा शैक्षिक क्षेत्रमा सहयोग पुर्‍याउने कार्यलाई निरन्तरता दिन सुझाव दिएका थिए।

नवनिर्वाचित अध्यक्ष रबिनराज काफ्लेले आफ्नो कार्यकालमा संस्थालाई अझ सक्रिय, पारदर्शी र उत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले प्रवासमा रहेका बाहुनडाँगीवासीहरूलाई एकीकृत गर्दै आपसी सहयोगको वातावरण निर्माण गर्ने, आकस्मिक सहयोग कोषलाई सुदृढ बनाउने, सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरूलाई निरन्तरता दिने र मातृभूमिसँग सम्बन्ध प्रगाढ बनाउने लक्ष्य रहेको बताए।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भोग्नुपर्ने विभिन्न समस्या तथा चुनौतीका विषयमा आवश्यक समन्वय र सहजीकरण गर्ने, नयाँ पुस्तालाई संस्थासँग जोड्ने र महिला सहभागिता बढाउने योजना समेत अघि सारिएको छ। कार्यक्रमको सञ्चालन समाजका महासचिव सन्देश नेपालले गरेको कतारबाट शब्दपत्र डटकमका प्रतिनिधि विमल भारतीले जानकारी गराएका हुन्। उक्त कार्यक्रम नेपाली समुदायको उल्लेख्य सहभागितामा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।