झापा । 

मुलुक निर्वाचनको माहोलमा रहेपनि आफ्नो र परिवारको जीविकोपार्जनका लागि वैदेशिक रोजगारमा जाने युवायुवतीको संख्या भने घटेको छैन । माघ महिनामा वैदेशिक रोजगारीमा जान ७० हजार भन्दा बढीले श्रम स्वीकृति लिएका छन् ।

माघमा वैदेशिक रोजगार विभागबाट पुनः श्रम स्वीकृति सहित ७० हजार ५ सय ३ जनाले श्रम स्वीकृति लिएका हुन् । त्यसमध्ये नयाँ ३७ हजार ८ सय १२ जनाको श्रम स्वीकृति भएको छ । जसमा ३२ हजार ८ सय ७४ पुरुष र ४ हजार ९ सय ३८ महिला छन् । 

माघ महिनामा म्यानपावर कम्पनीबाट २६ हजार ८०७ जनाको नयाँ श्रम स्वीकृति भएको छ । करिब ११ हजार जना व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारमा गएका छन् । 

यस्तै माघ महिनामा ६० म्यानपावर कम्पनीले एक सय र सो भन्दा बढी नेपाली कामदार वैदेशिक रोजगारीमा पठाएका छन् । त्यस मध्ये ६ सय १२ जना कामदार पठाएको एसओएस म्यानपावर सर्भिस प्रालि पहिलो, ५ सय ७६ जना पठाएको दि रिभर ओभरसिज प्रालि दोस्रो र ५ सय ५ जना पठाएको लिंक इन्टरनेसनल प्लेसमेन्ट सर्भिस प्रालि सूचीको तेस्रो नम्बरमा रहेको छ । अन्य म्यानपावर कम्पनीले पनि एक सय र सो भन्दा कामदारहरु विदेश पठाएका छन् ।