झापा । 

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको र जसको प्रभावले कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशमा साधरणतया बादल लागेको छ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बादल तथा अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशको पहाडी र हिमाली भूभागको थोरै स्थानहरूमा तथा बाँकी  पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । तराई भूभागका थोरै स्थानहरूमा बिहानको समयमा हुस्सु तथा कुहिरो रहनेछ।

आज राति कोशी र बागमती प्रदेश लगायत बाँकी हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। मधेस प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम  मुख्यतया सफा रहने छ । 

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहने महाशाखाले जनाएको छ ।