झापा ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो सुरक्षा परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका महासचिव महेशकुमार बस्नेतले एक अपिल जारी गर्दै उक्त क्षेत्रमा बसोबास तथा कार्यरत सम्पूर्ण नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
संघले सम्बन्धित देशका स्थानीय प्रशासनद्वारा जारी गरिएका सुरक्षा निर्देशिकाहरू पूर्ण रूपमा पालना गर्न अनुरोध गर्दै सम्भावित जोखिमप्रति सचेत रहन आह्वान गरेको छ । त्यसैगरी, नेपाल सरकार तथा विदेशस्थित नेपाली दूतावास र कूटनीतिक नियोगहरूलाई आफ्ना नागरिकको सुरक्षाका लागि आवश्यक समन्वय, समयोचित सूचना प्रवाह तथा आपतकालीन संयन्त्रहरू प्रभावकारी रूपमा सञ्चालन गर्न संघले आग्रह गरेको छ ।
संघले नेपाली नागरिकको जीवन र सुरक्षाको संरक्षण सर्वोपरि विषय भएको उल्लेख गर्दै मध्यपूर्व क्षेत्रमा सक्रिय विभिन्न संघ–संस्थाहरूलाई समेत नेपालीहरूको हित र सुरक्षाका लागि आवश्यक पहल गर्न अनुरोध गरेको छ ।nनेपालस्थित इजाजतप्राप्त वैदेशिक रोजगार संस्थाहरूलाई सम्बन्धित रोजगारदाता कम्पनीहरूसँग निरन्तर समन्वय गरी आफ्ना कामदारहरूको अवस्थाबारे नियमित जानकारी लिन तथा आवश्यक सहयोग उपलब्ध गराउन पनि संघले आग्रह गरेको छ ।
यस्तै, उक्त क्षेत्रमा उडान सञ्चालन गरिरहेका एयरलाइन्स कम्पनीहरूलाई यात्रु तथा नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै उडान व्यवस्थापन, समयमै सूचना प्रवाह तथा आवश्यक उद्धार तथा सहयोगका कार्यमा जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न संघले आह्वान गरेको छ । अपिलमा यस्तो विषम परिस्थितिमा नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरिएको छ ।


















