झापा ।
निर्वाचन पर्यवेक्षण समिति, नेपालले प्रतिनिधि सभा निर्वाचन देशभर छिटपुट घटनाबाहेक शान्तिपूर्ण, व्यवस्थित र उत्साहजनक रूपमा सम्पन्न भएको जनाएको छ। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले प्रारम्भिक अनुगमनको आधारमा निर्वाचन व्यवस्थापन र मतदाताको व्यवहारमा विगतको तुलनामा सुधार आएको निष्कर्ष सार्वजनिक गरेको हो ।
समितिको रिपोर्टअनुसार अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र सबै वर्ग तथा समुदायका मतदाताहरूले उत्साहपूर्वक मतदानमा सहभागिता जनाएका छन्। राजनीतिक दल, उम्मेदवार र मतदाताहरूको व्यवहार यस पटक बढी संयमित, सहयोगी र शान्त भएको पर्यवेक्षणले देखाएको छ। मतदान केन्द्रहरूमा कर्मचारी र दलका प्रतिनिधिहरूबीच पनि सौहार्दपूर्ण वातावरण कायम रहेको बताइएको छ।
जिओकले ३६ जिल्लाका २ सय ५० पालिकामा राष्ट्रिय तथा जिल्ला स्तरका गरी जम्मा ४ सय पर्यवेक्षक परिचालन गरेको थियो। पर्यवेक्षकहरूको टोलीमा पूर्वन्यायाधीश, पूर्वसचिव, प्राध्यापक र वरिष्ठ पत्रकारहरू समेत सामेल थिए। प्रारम्भिक प्रतिवेदनअनुसार अधिकांश मतदान केन्द्रहरू तोकिएको समयमा बिहान ७ बजेदेखि नै सञ्चालनमा आएका थिए।
पर्यवेक्षणका क्रममा मतदाताहरूमा उम्मेदवार र निर्वाचन चिह्नबारे आधारभूत जानकारीको कमी देखिएको छ। मतदाता शिक्षा र सूचना संप्रेषण प्रभावकारी नहुँदा कतिपय मतदातामा अन्योल देखिएको थियो। उम्मेदवारहरूले आफ्नो चिह्नबारे स्पष्ट सूचना नदिँदा मतदाताले विवेकपूर्ण मत दिन कठिनाइ भएको पाइएको छ।
शान्तिपूर्ण मतदान भए पनि केही प्राविधिक र व्यवस्थापकीय समस्याहरू देखिएका छन्। टाढाबाट आउनुपर्ने मतदाताले सवारी साधनको अभावका कारण मतदानबाट बञ्चित हुनुपरेको छ। कतिपय मतदान केन्द्रहरू अपाङ्गता मैत्री बन्न सकेका छैनन्। दोलखाको तामाकोशी र सुनसरीको धरानमा मतदान सुरु गर्दा सामान्य विवाद भए पनि सर्वदलीय बैठकबाट समाधान गरी मतदान सञ्चालन गरिएको थियो। मतदाता परिचयपत्र भए पनि नामावलीमा नाम नहुनु वा परिचयपत्र नहुँदा मतदान गर्न नपाउने जस्ता समस्याहरू केही स्थानमा देखिएका छन्।
यता सुरक्षाको हिसावले अति नै संवेधिन क्षेत्र मानिएको झापा क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम भइरहेको छ । निर्वाचन कार्यालयका अनुसार, आजै सर्वदलीय बैठक बस्नेछ । उक्त बैठकको निर्णयपछि मतगणना सुरु हुने जनाइएको छ ।अहिले मतदान केन्द्रबाट मतपेटिका सिल गर्ने काम भइरहेको छ । झापा–५ यसपटक सर्वाधिक चासोमा रहेको निर्वाचन क्षेत्र हो ।

















