झापा ।
खाडी मुलुकमा रहेका नेपाली दूतावास तथा नियोगहरूले नेपाली कामदारका लागि आउने मागपत्र प्रमाणीकरण स्थगन गरेका छन् । इजरायल–अमेरिका र इरानबीचको युद्धको त्रासका कारण सरकारले ती देशमा कामदार पठाउन आवश्यक पर्ने मागपत्र प्रमाणीकरणमा अस्थायी रोक लगाएको हो ।
परराष्ट्र सचिव अमृतबहादुर राईको संयोजकत्वमा रहेको उच्चस्तरीय इमर्जेन्सी रेस्पोन्स टिमले तत्कालका लागि मागपत्र प्रमाणीकरण नगर्न निर्देशन दिएको हो । कतार र युएईस्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरण अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको जनाएका छन् ।
अमेरिकले इरानमाथि आक्रमण सुरु गरेपछि गत साता वैदेशिक रोजगार विभागले साउदी अरेबिया, युएई, कुवेत, कतार, बाहराइन, ओमान, इराक, यमन, लेबनान, टर्की, जोर्डन र इजरायलसमेतका देशहरूमा वैदेशिक रोजगारीका निम्ति दिइने व्यक्तिगत र संस्थागत श्रम स्वीकृति स्थगित गरेको थियो ।


















