झापा ।

 संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा ड्रोन आक्रमण भएपछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल आसपास क्षेत्रमा आगलागी भएको छ । दुबई मिडिया अफिसका अनुसार सोमबार बिहान भएको उक्त ड्रोन आक्रमणबाट विमानस्थल नजिकै रहेको इन्धन ट्याङ्कीमा आगलागी भएको छ ।

घटनापछि सिभिल डिफेन्सका टोलीहरूले आगो नियन्त्रणमा लिन काम गरिरहेका रोयटर्सले जनाएको छ । उक्त घटनामा कुनै मानवीय क्षति भने नभएको अधिकारीहरूले बताएका छन् । सारजहाँ ट्वान्टी फोर अनलाइनले दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुईवटा ड्रोन खसेको जनाएको छ ।

फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल र इरानबीचको युद्धपछि खाडी क्षेत्रमा मिसाइल तथा ड्रोन आक्रमण तीव्र भएका छन् । त्यस यता खाडीका अरब मुलुकहरूले दुई हजारभन्दा बढी मिसाइल र ड्रोन आक्रमणको सामना गरिसकेका छन् ।