झापा ।
सरकारले मध्यपूर्वका केही देशका लागि पुनः श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ भने केही मुलुकमा स्थगन यथावत् राखिएको छ ।मन्त्रालयले गत फागुन १७ गतेको निर्णयअनुसार मध्यपूर्वका देशहरूमा विषम परिस्थितिका कारण त्यहाँ कार्यरत नेपाली श्रमिक एवं रोजगारीका लागि जान चाहनेहरूको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै पुनः श्रम स्वीकृति र संस्थागत श्रम स्वीकृति रोकेको थियो । उक्त निर्णयपछि विदेशमा कार्यरत नेपाली श्रमिक तथा पुनः रोजगारीका लागि फर्कन चाहने श्रमिकहरू प्रभावित भएका थिए ।
मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै गैरआवासीय नेपाली संघ, विभिन्न दूतावास तथा श्रमिकहरूबाट पुनः श्रम स्वीकृति खुलाउन माग आएपछि परराष्ट्र मन्त्रालयको सिफारिस र वैदेशिक रोजगार विभागको रायका आधारमा पुनः श्रम स्वीकृति खुला गर्ने निर्णय गरिएको जनाएको छ ।
नयाँ निर्णयअनुसार साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई), कतार, ओमान, यमन, जोर्डन र टर्कीमा कार्यरत नेपाली श्रमिक तथा बिदामा नेपाल आएका र पुनः ती देश फर्कन चाहने श्रमिकलाई पुनः श्रम स्वीकृति प्रदान गरिनेछ । तर इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनानका लागि भने श्रम स्वीकृति स्थगन यथावत् रहने मन्त्रालयले जनाएको छ । ती देशहरूमा सुरक्षा तथा परिस्थितिजन्य संवेदनशीलता कायम रहेको मन्त्रालयले उल्लेख गरेको छ ।
यता वैदेशिक रोजगार विभागले मन्त्रालयले गरेको निर्णय कार्यान्वयनका लागि वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमार्फत पुनः आवेदन दिन सकिने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ ।















