झापा ।
झापाको बुद्धशान्ति गाउँपालिका–४ टिमाईस्थित मकै बारिमा चितुवाको आक्रणबाट एक प्रहरीसहित चार जना घाइते भएका छन् । आज (आइतवार) दिनको १ बजेको समयमा सोही स्थानका कमल खड्काको मकै बारीमा घाइते अवस्थामा रहेको चितुवाले आक्रमण गरेको हो ।
प्रहरी टोलिले डिविजन वन कार्यालय झापासँग आवश्यक समन्वय गरी उक्त चितुवा नियन्त्रणमा लिनको लागि कोशि टप्पु बन्यजन्तु आरक्षण सुनसरीबाट साँझ ६ बजे बिज्ञ टोली आएर चितुवालाई नियन्त्रणमा लिन खोज्दा बिच्किएर घटनास्थल सुरक्षामा खटिएका सशस्त्र प्रहरी सुरक्षा बेस टिमाईका सहायक प्रहरी नायव निरिक्षक केदार श्रेष्ठलाई आक्रमण गरेको थियो ।
आक्रमणबाट श्रेष्ठको अनुहार, हात खुट्टा, कान, बायाँ पाखुरा लगायत शरिरको बिभिन्न भागमा चोट लागेर घाईते भएका छन् । साथै झापा बुद्दशान्ति–६ का ५० बर्षीय कृष्ण गजमेर, सोही स्थानका ५४ बर्षीय दुर्गा बबहादुरकटुवाल, र मेचीनगर नगरपालिका–१० का २६ बर्षीय बिशाल कार्की समेतलाइ आक्रमण गरेर घाइते बनाएको छ ।
उनीहरुको अवस्था सामान्य रहेको र घाईते चारै जनाको भागिरथा न्यौपाने अस्पताल बुद्धशान्तिमा उपचार भईरहेको प्रहरीले जनाएको छ। उक्त चितुवाले स्थानियहरुलाई समेत आक्रमण गर्न थालेपछि स्थानियले कुटिपिट गर्दा चितुवाको मृत्यु भइसकेको छ । जिल्ला डिविजन वन कार्यालय झापामा मृत चितुवा आवश्यक कार्यको लागि लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।


















