झापा । 

प्रहरीले वैदेशिक रोजगारीका नाममा सयौं व्यक्तिलाई विभिन्न देश पठाउने भन्दै ठुलो रकम ठगी गरी फरार रहेका आधा दर्जनभन्दा बढी व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिहरूले वैदेशिक रोजगारीका नाममा १ करोड ३५ लाख ३५ हजार रुपैयाँ ठगी गरेको खुलेको छ । थप केहीको अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।

पक्राउ परेकामध्ये चलचित्र ‘तेल भिसा’का निर्माता शिवराज कार्की प्रमुख व्यक्ति हुन् । वैदेशिक रोजगारी ठगीमा ६ वटा पक्राउ पुर्जी जारी भएका कार्कीले काठमाडौंको चाबहिलमा पी एण्ड एम इनोभेसन सर्भिस नामको कन्सल्टेन्सी सञ्चालन गरी २५० जनालाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोप छ । 

उनीविरुद्ध एक सयभन्दा बढीले जाहेरी दिइसकेका छन् । विगत तीन महिनादेखि भारतको नयाँ दिल्ली पहाडगञ्जमा बस्दै आएका कार्कीबाट प्रहरीले भारतीय आधार कार्ड र प्यान कार्डसमेत बरामद गरेको जनाएको छ । उनले सोही कार्डका आधारमा भारतमा फास्टफुड व्यापार गर्दै आएका थिए ।

सिन्धुलीको सुनकोशी गाउँपालिका–७ घर भएका कार्कीविरुद्ध बैंकिङ कसुरको मुद्दासमेत चलेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता मनोहर भट्टले जानकारी दिए । उनलाई कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ ।

त्यसैगरी नुवाकोटको शिवपुरी गाउँपालिका–५ का २५ वर्षीय सरस्वती भण्डारी, रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१२ का ४२ वर्षीय धनीराम बुढा, गुल्मीको कालिगण्डकी गाउँपालिका–६ का ३७ वर्षीय काशिराम दर्जी र कास्कीको रूपा गाउँपालिका–५ का ३६ वर्षीय विकल पौडेल पनि वैदेशिक रोजगार ठगीको आरोपमा पक्राउ परेका छन् ।

बुढाले अमेरिका पठाउने भन्दै १८ लाख, पौडेलले क्यानडा पठाउने भन्दै १० लाख, भण्डारीले रोमानिया पठाउने भन्दै १ लाख ४६ हजार र दर्जीले क्रोएसिया पठाउने भन्दै ३ लाख २० हजार रुपैयाँ ठगी गरेको आरोप छ । उनीहरूलाई पनि प्रहरीले कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाएको छ ।

दोलखा वैतेश्वर गाउँपालिका–३ घर भई हाल काठमाडौं महानगरपालिका–४ बस्ने ३७ वर्षीया राधिका बस्नेत पनि वैदेशिक रोजगार ठगीको आरोपमा पक्राउ परेकी छन् । उनीविरुद्ध वैदेशिक रोजगारसम्बन्धी ठगीका २ वटा मुद्दा वैदेशिक रोजगार न्यायाधिकरणमा दर्ता गरिएको छ । दुई वटा मुद्दामा उनीविरुद्ध ८० लाख २५ हजार रुपैयाँ बिगो दाबी गरिएको छ । उनीविरुद्ध बैंकिङ कसुरका ७ वटा मुद्दासमेत रहेका छन् । उनलाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।